काठमाडौं, ३ साउन । । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट ४० जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । नेपालनिकट सांसद विरोध खतिवडाले कम्तिमा पनि ४० जना सांसद आफूहरुको पक्षमा उभिएकाले सबैले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए । विश्वासको मत दिनेबारे साझा धारणा बनाउनको लागि बसेको नेपाल पक्षको नेताहरुको बैठकले यस्तो निर्णय गरेको खतिवडाको भनाई छ ।
प्रधानमन्त्री देउवाले आजकै संसद् बैठकमा विश्वासको मत लिने भएका हुन् । उनलाई विश्वासको मत नदिने भनेर एमालेले निर्णय गरिसकेको छ । तर, यसअघि नै संसद्को पूर्ण कार्यकालको पक्षमा आफूहरु उभिएको बताउँदै नेपाल पक्षले भने देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । सर्वोच्चमा रिट हाल्दा नेपाल पक्षबाट २३ जना सांसद थिए । तर, अहिले सत्ता समिकरणमा नेपाल पक्ष पनि निर्णायक भएकोले मन्त्री बन्ने लोभमा दर्जन बढि सांसद नेपाल पक्षमा आएको दाबी गरिएको छ ।
प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेता नेपाललाई भेटेरै सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । देउवाले नेपालले मागेबमोजिम मन्त्रालय दिनेपनि आश्वासन दिएका छन् । खतिवडाकाअनुसार विश्वासको मत दिने भएपछि आफूहरु पनि सरकारमा सहभागी हुनसक्ने जानकारी दिए । अहिले नेपाल पक्षले कम्तिमा पनि ८ वटा मन्त्रालय पाउने आश्वासन प्रधानमन्त्रीबाट पाएको छ । file photo