काठमाडौंं, ३ साउन । संसदीय राजनीतिमा लामो अनुभव सँगालेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको राजनीतिलाई नयाँ मोडमा लगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता बर्हिगमन हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सफल भएका छन् ।
देउवाले संविधान बमोजिम आज विश्वासको मत लिदैछन् । विश्वासको मत लिन उनलाई प्रतिनिधि सभामा हाल रहेका २६७ सांसदमध्ये १३४ को समर्थन भए पुग्छ ।
देउवालाई स्पष्ट बहुमतको साथ पुग्ने देखिइसकेको छ । देउवालाई नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेको माधव नेपाल पक्षधरको २३, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरको १३ सांसदको यसअघि नै समर्थन थियो ।
केही दिनको राजनीतिक घटनाक्रमले जसपाको यादव पक्षमा ६ सांसद थपिएर १९ पुगेको छ । माधव नेपाल पक्षधरमा पनि सांसद संख्या थपिने संकेतहरु देखिएको छ । राष्ट्रिय जनमोर्चाका १ सांसदको पनि देउवालाई साथ मिल्ने भएको छ । देउवाले यसकारण पनि १६० सांसदको समर्थन पाउने देखिएको छ । जुन बहुमतभन्दा २६ मत बढी हो ।
विश्वस्त स्रोतका अनुसार माधव नेपाल पक्षसँग अहिले ३० भन्दा बढी सांसद छन् । उनको पक्षका हस्तीहरु भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतले विद्रोह गर्ने र विश्वासको मत नदिने संकेत गरेका छन् । यद्यपि, उनीहरुको साथ विना पनि माधव नेपालसँग आवश्यक सांसद रहने बुझिएको छ ।
जसपामा १९ देखि २० सांसद विश्वासको मतको पक्षमा छन । सत्ता राजनीतिले माधव नेपाल र उपेन्द्र यादवको शक्ति ह्वात्तै बढेको छ । उनीहरुसँग सांसद संख्या थपिएका छन् ।