काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा १६५ मत परेको छ । उनलाई नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्र ४९, जनता समाजवादी पार्टीका ३२ र नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चाका सांसदले विश्वासको मत दिएका हुन् ।
प्रतिनिधि सभाका कुल २६७ सांसदमध्ये कुल २४९ सांसदहरु मतदानमा उपस्थित भएका थिए । देउवाको विश्वासको मतको विपक्षमा ८३ मत परेको थियो । कतै पनि मत दिन्न भन्ने पक्षमा १ मत पुगेको छ । नेकपा एमालेको केपी शर्मा ओली पक्षले विपक्षमा मतदान गरेको हो ।
दिनभर नाटकीय घटनाले नयाँ मोडहरु लिनुका बाबजुद देउवाले विश्वासको मत पाएका हुन् । उनलाई सुरुमा एमालेको माधव नेपाल पक्षका २३ भन्दा बढी सांसदले मत दिने अपेक्षा गरिएको थियो । तर, नेपाल पक्षमै विभाजन आएर संख्या घट्यो ।
यसैगरी, साँझ जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको पक्षमा मतदान गर्ने घोषणा गर्यो । यसले नेपाल पक्षका बढी भन्दा बढी सांसदले मत नदिने घोषणा गर्न थाले । जसका कारण संख्या घट्यो ।