Logo

ओलीलाई एमाले अध्यक्षबाट हटाउने रणनीति बन्यो



काठमाडौं, ४ साउन । नेकपा एमालेको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने सम्मको रणनीति बुनिएको छ । उनलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर हटाउने सम्मको रणनीति बुनिएको हो ।

विश्वस्त स्रोतका अनुसार ओलीविरुद्ध केन्द्रीय कमिटीमा १०२ जना पुर्याउने गृहकार्य चलेको छ । सर्वोच्च अदालतले नेकपा एमालेको नवौं महाधिवेशनको कमिटीलाई मान्यता दिने गरी गरेको फैसलाको आधार मानेर उक्त संख्या पुर्याएर ओलीलाई हटाउने रणनीति उनीविरोधी समूहले गृहकार्य बढाएको हो ।

नवौं महाधिवेशनको २०३ सदस्यीय केन्द्रीय कमिटीमा माधवकुमार नेपाल पक्षमा ८८ जना रहेको बुझिएको छ । बामदेव गौतम पनि नेपालसँगको सहकार्यमा रहेकाले लगभग १०० केन्द्रीय कमिटीको संख्या पुग्ने आँकलन गरिएको छ । बाँकी केही केन्द्रीय सदस्य ओली पक्षबाट तान्ने गरी तयारी बढाइएको छ ।

पछिल्लो समय ओली पक्षकै केही नेताहरु असन्तुष्ट बनेका छन् । उनीहरु नेकपा एकताका लागि ओलीको विकल्पमा जानुपर्ने सम्मको तयारीमा पुगेको बुझिएको छ ।

नेकपा एमाले मिल्ने सम्भावना लगभग अन्त भएपनि ओलीलाई अध्यक्षबाट राजीनामा गर्न लगाउने या हटाएर भएपनि बढ्ने रणनीतिका साथ दोस्रो पुस्ताका हस्ती नेताहरु आन्तरिक गृहकार्यमा छन् । ओलीले राजीनामा दिने सम्भावना लगभग छैन । त्यसैले उनलाई हटाउने रणनीतिमा ओलीनिकट मानिएका केही नेताहरु नै लाग्न सक्ने बुझिएको छ ।

एमालेभित्र ओलीको पकड बलियो रहेकाले उनलाई हटाउन सजिलो भने छैन । तर, एमाले एक बनाउने सवालमा उनलाई हटाउन सम्म दोस्रो पुस्ताका केही नेताहरु अगाडि बढ्ने सम्भावना नभएको होइन ।

ओली अध्यक्ष नै रहे के होला

एमाले अध्यक्षबाट ओलीलाई राजीनामा गर्न लगाउने या हटाउने गरी विरोधी नेताहरु सक्रिय भएका छन् । तर, दुवै सम्भावना नभएमा एमाले फुट्ने निश्चितप्रायः छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत सांसद संख्या पुग्नुपर्छ । केन्द्रीय कमिटीमा ४० प्रतिशत पुगेपनि ओलीविरोधीसँग संसदीय दलमा ४० प्रतिशत पुग्दैन । त्यो संख्या पुर्याउन माधव नेपाल पक्ष सक्रिय भइसकेको छ ।

४० प्रतिशत सांसद संख्या नपुगे अध्यादेश ल्याएर भएपनि अगाडि बढ्ने नेपाल पक्षको तयारी देखिएको छ । यो विकल्पमा पनि नेपाल तयारी अवस्थामा बसिसकेको बुझिएको छ ।

यथास्थितिमा नेपालसँग ३२ भन्दा बढी सांसद छन् । यो संख्या देउवाको पक्षमा विश्वासको मत दिने २२, माधव पक्षमा रहेर मतदान नगर्ने ८, मतदानमा भाग लिन आउन नपाएका झलनाथ खनाल र तुलसा थापा समेतको संख्या हो । गोकर्ण बिष्ट र योगेश भट्टराई समेतलाई गणना गर्दा ३४ पुग्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot