काठमाडौं, ४ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू पक्षीय प्रभावशाली नेताहरुसँग सरकारमा सहभागिताबारे छलफल बढाएका छन् । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेकाले सरकारमा उनीपछिको वरियतामा आफूपक्षीय नेता हुनुपर्ने भन्दै पौडेलले दबाब सृजना गर्नेबारे छलफल चलाएका हुन् ।
आज पौडेल पक्षका नेताहरुको टोखास्थित महामन्त्री डा. सशांक कोइरालाको निवासमा बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई सफल बनाउने देखि दोस्रो वरियतामा पौडेल पक्षबाट जाने गरी तय गर्नेबारे छलफल भएको थियो ।
पौडेल पक्षबाट सांसद रहेकाहरुमध्येबाट महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु सुजाता कोइराला, डा. मीनेन्द्र रिजालमध्येबाट सरकारमा पठाउनेबारे छलफल भएको बुझिएको छ । महामन्त्री सशांक कोइराला सरकारमा सहभागी हुने पक्षमा नरहेको बुझिएको छ । उनले सुजाता कोइरालालाई सरकारमा लान चाहेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि सरकारमा जाने पक्षमा सकारात्मक नदेखिएको बुझिएको छ । उनले बरु आफू पक्षीय सांसदलाई लान चाहेको निकट स्रोतले बताएको छ ।
डा. मीनेन्द्र रिजाल भने सरकारमा सहभागी हुने निश्चितप्रायः भएको छ । उनी पौडेल पक्षबाट सरकारमा सहभागी भएमा दोस्रो वरियतामा रहने सम्भावना पनि रहेको बुझिएको छ । तर, उपप्रधानमन्त्री भइसकेका प्रकाशमान सिंह र सुजाता कोइरालामध्येबाट गएमा उनी वरियतामा तल नै पर्ने सम्भावना छ ।
पौडेल पक्षबाट सम्भवत सुजाता कोइरालालाई अगाडि सार्ने सम्भावना देखिएको छ । प्रकाशमान सिंह सरकारमा सहभागी नहुने निश्चितप्रायः भएकाले पनि सुजातालाई अवसर मिल्ने सम्भावना देखिएको हो ।