Logo

बीपी आन्दोलनः उच्चस्तरीय अध्ययन कार्यदलले थाल्यो छलफल



सुनसरी, साउन ५। विगत ३५ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी ‘बीपी शुद्धीकरण अभियान’ अन्तर्गतको आन्दोलन निकासतर्फ प्रवेश गरेको छ । प्रतिष्ठानका चारैजना पदाधिकारीको राजीनामा सहित अनियमितता सुधारको माग गर्दै आन्दोलित संयुक्त संघर्ष समितिसँग सोमवार उच्चस्तरीय अध्ययन कार्यदलले अध्ययन शुरू गरेपछि आन्दोलन टुंगोमा पुग्ने अपेक्षा गरिएको छ ।

असार १५ गते उपकुलपति डा ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरी छलफलमा बसेपछि संघर्ष समितिले उनी लगायत चार उच्च पदाधिकारीको राजीनामा सहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरीय आयोग गठन गरी छानबिन हुनुपर्ने माग गर्दैै आएको थियो ।

आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा। वैकुण्ठ अर्यालको संयोजकत्वमा आठसदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले अध्ययन शुरू गरेपछि संघर्ष समितिले घोषणा गरेको आकस्मिक बाहेक दुई घण्टा सेवा बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

माग पूरा नभएसम्म दैनिक दुई घण्टा धर्ना तथा विरोधसभा भने चलिरहने समितिका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले बताए । ‘सचिवको संयोजकत्वमा उच्चस्तरीय अध्ययन कार्यदल गठनपछि सकारात्मक बनेका छौं, यसले निकास दिने विश्वास छ ।’

पहिलो चरणको छलफल सकारात्मक रहेको उनको प्रतिक्रिया छ । समितिले कार्यदललाई आफ्ना मागहरूको बारेमा जानकारी गराएको उनले बताए ।

कार्यदलले सोमवार नै प्रमुख पदाधिकारीहरूसँग पनि छलफल गरेको छ । त्यसैगरी नागरिक समाज, सञ्चारकर्मीसँग छलफल गरेर प्रतिवेदन तयार गरिने कार्यदलका प्रवक्ता डा। शंकर नेपालले बताए । संघर्ष समितिसहित पदाधिकारी, नागरिक समाजसँग समेत छलफल गरेर विषयवस्तुको गहिराइमा पुग्ने प्रयास गरिने उनको भनाइ छ ।

प्रतिष्ठानका उपकुलपति गिरीले वार्ताका लागि पटक पटक आह्वान गर्दा पनि संघर्ष समितिले उच्चस्तरीय वार्ता समितिसँग मात्रै वार्तामा बस्ने अडान कायमै राखेको छ । प्रतिष्ठानको बेथिती, आर्थिक अनियमितता एवं भ्रष्टाचार अन्त्यका लागि जारी आन्दोलनको क्रममा असार १५ गते भएको वार्ता भाँडिएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot