टिस्टुङ, ५ साउन: मकवानपुरको थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये आर्थिक वर्ष २०७७-७८ मा ३० वटाको फैसला भएको छ । ती मुद्दा मेलमिलापको विधिबाट निरुपण गरिएका हुन् । समितिमा एक वर्षभित्र विभिन्न किसिमका ४६ मुद्दा परेको न्यायिक समितिका कानूनी सहजकर्ता गोपीकुमारी कार्कीले जानकारी दिए ।
अघिल्लो आवमा विचाराधीन रहेकासमेत गत आवमा न्यायिक समितिमा विभिन्न आठ किसिमका उजूरी परेका थिए । दर्ता भएका मुद्दामध्ये तीनवटा अदालत पठाइएको नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक खड्गबहादुर गोपालीले जानकारी दिए। न्यायिक समितिमा उजूरी दिएर तारिख नबुझेको र सम्पर्कमा नआएको मुद्दा सातवटा रहेका छन् ।
त्यसैगरी आठवटा मुद्दा विचाराधीन रहेका छन् । न्यायिक समितिका कानूनी सहजकर्ता कार्कीका अनुसार समितिमा दर्ता भएका उजूरीमध्ये सबैभन्दा बढी जग्गाको साँध–सिमानासम्बन्धी छन् । एक आवमा १७ मुद्दा जग्गासम्बन्धी दर्ता भएको समितिले जनाएको छ । त्यसैगरी १० जग्गा रोक्कासम्बन्धी, ६ आर्थिक लेनदेनसम्बन्धी र चार अंशसम्बन्धी छन् ।
समितिमा ज्येष्ठ नागरिकको हेरचाह नगरेको मुद्दासमेत परेको छ । गत आव त्यस्ता तीन मुद्दा दर्ता भएका छन् । त्यसैगरी श्रीमान्–श्रीमती झैझगडाका मुद्दा तीन, साधारण कुटपिटका मुद्दा दुई र ज्याला विवादसम्बन्धी मुद्दा एकवटा दर्ता भएको उनले जानकारी दिए । समितिमा आएका मुद्दा सकेसम्म मेलमिलापको माध्यमबाट निरुपण गर्ने गरिएको समितिका संयोजक गोपालीले जानकारीदिए ।-रासस/File Photo