Logo

आफैलाई जलाउन पनि रुख रोप्नुपर्ने रहेछ



दिवाकर प्रधान : हाम्रो दाम्पत्य जीवनको अन्तिम रात रहेछ। सालबारी घरमा थियौँ। पत्नीलाई पीड़ा हुँदैथ्यो। हृदयरोग निको भइसके तापनि भिटामिन बी र डी शरीरमा अत्यधिक सञ्चित हुनाले असुविधा भइरहेको थियो। रातभरि दुवै सुत्नसकेका थिएनौँ।
रातको तेस्रो प्रहरतिर असह्य भएछ। सजल नेत्र लिई अँगालोमा आएर भक्कानिएको स्वरमा भनिन् – “बुवा, म त मर्छु कि कसो, मरेँ भने राङभाङ खोलामा जलाइदिनुहोस् र खरानी हामीले बिहा हुँदा रोपेका रुखमा छरिदिनुहोस्।”
“मुमा, त्यसो नभन। भिटामिन सन्तुलन गर्ने उपचार हुँदैछ। डाक्टर छन्, म छु। हामी लामो बाँच्नुपर्छ।” बिहान बान्ता भएपछि सञ्चो भएकी थिइन्। त्यसै दिउँसो (५ जुलाई २०२१) आनन्दलोक बहुविशिष्ट चिकित्सालयको आपत्कालीन कक्षमा उनलाई मृत घोषित गरिएको थियो। अवाक् मैले Nirmala Pradhan शरीरी सधैँलाई हराएको शरीरलाई मात्र भेट्नसकेको थिएँ। हुनता मैले गाड़ी चलाउँदैगर्दा मलाई समाएर छातीमा टाउको राख्दैखेरी प्राण गएको रहेछ। बिहान “गाड़ी म आफै हाँक्छु, तपाईँ काशी फर्कनुभएपछि कसले चलाउने” भनेकी मान्छे के सजिलो शान्तिले मरिन्! स्वार्थी!! चेतना वा प्राण फर्केला कि भनी गाड़ी हाँक्दै भए पनि झाँपड़ हानेँ। उनको अन्तिम शब्द ‘बुवा’! मेरो पनि अन्तिम सम्बोधन ‘मुमा’ उनले सुनिन् होली तर उत्तर आएन। यसरी हामी आनन्दलोक पुगेका थियौँ। इहलोक भोग्न मलाई एकलै पारेर उनी साँच्चिकै आनन्दलोक पुगेकी रहिछन्।
देहीहीन देह सालबारी, दार्जिलिङ हुँदै पैतृक थलो चामोङ लगियो। आफ्नै खेतबाट बगिरहेकी राङभाङ खोलामा दाह संस्कार गरियो। उनको देह खरानी भयो। केराको पातमा खरानी बटुलेँ। बिहामा रोपेका रुखहरूमध्ये उनको सर्वप्रिय पिप्लीको रुखमा खरानी छर्न पुगेँ। रुख तर थिएन। ठुटो मात्र थियो। चिता बनाउन त्यही पिप्लीको रुख नै पो काटिएको रहेछ। खिन्न मनले काटिएकै ठुटोको वरिपरि खरानी छरेँ। उब्रेका खरानी अरू दौँतरे रुखमा छरेँ। रुख फेरि टुसाउला भन्ने विश्वासले आत्मतोष बोध गरेँ। ‘उनले रोपेकी रुख उनैलाई भयो’ सोचेँ। आफैलाई जलाउनलाई पनि रुख रोप्नुपर्ने रहेछ।
हामी लोग्ने-स्वास्नीलाई किन हो किन राङभाङ बस्तीको आफ्नो बारी, वृक्ष-वनस्पतिसित गहिरो आत्मीयता थियो। चामोङ घर जाँदैपिच्छे चियाबारी र बस्ती जान्थ्यौँ। घण्टौँ खोला खेल्दथ्यौँ। बारीका फुलेका चाँप, पैञुसित र चियाबारीसित छवि उतार्दथ्यौँ। रोपेका बढेका रुखहरू मुसार्दथ्यौँ। वर्षभरि काशी र गान्तोकका नागरी परिवेशबाट चामोङ-राङभाङको ग्रामीण आभासले मानसिक अवकाश दिँदथ्यो। गाउँलेहरूसित मिल्दथ्यौँ। उनीहरूको निष्कलुष सद्भावना सञ्चित गर्दथ्यौँ।
स्कूली सेवाबाट आगामी अप्रेलमा निवृत्त बनेपछि समय सन्दर्भमा विश्राम गर्न बारीघर संस्कार गर्ने वा त्यहीँ कतै सानो कुटी बनाउने निधो गर्दैथ्यौँ। निरू मुमाको निधनले योजना भताभुङ्गै भयो। काटिएको रुखको क्षतिपूर्ति गर्न पति-पत्नीको प्रेमको प्रतीक वर-पिपल रोप्ने निर्णय गरेँ। १३ दिने अन्त्येष्टि क्रिया सक्नासाथ पारि बस्ती गई केही भूमिको अन्तर राखी त्यही ठाउँमा वर-पिपल रोप्यौँ। घरमा पिपलको बिरुवा त थियो अनि पारि साइँला दाजु दिलप्रसाद ब्राह्मणले वरको बिरुवा जोहो गरिदिए। भाइ र नानीहरूसित गई ती रोप्यौँ। वरिपरि साइँला दाजुकी बुहारीले दिएकी डेलिया र सयपत्री पनि रोप्यौँ।



प्रतिक्रिया दिनुहोस्