Logo

धमाधम कालोपत्र हुँदै डोटीका शाखा सडक



डोटी, ६ साउन । सडक निर्माण गरिएको वर्षौँपछि जिल्लाका शाखा सडक धमाधम कालोपत्र हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक कालोपत्र गर्ने तयारीमा रहेका हुन् । पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कम्तीमा पनि ८६ किलोमिटर शाखा सडक कालोपत्र गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै अहिले ती सडकमा धमाधम काम भइरहेको छ ।

कालोपत्रको तयारीमा रहेका सडकहरुमा सुदूरपश्चिमको प्रमुख पर्यटकीय तथा प्रसिद्ध धार्मिक क्षेत्र खप्तड जोड्ने पहुँच मार्गका रूपमा रहेको सिलगढी–झिग्राना सडक, कालिका मन्दिरदेखि झिग्रानासम्मको आठ किलोमिटर सडक, सिलगढीदेखि कालिका मन्दिरसम्मको साढे सात किलोमिटर सडक, जिल्ला सदरमुकाम सिलगढीदेखि कलेना, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक र राजपुर–फलेडी–धिर्कामाडौँ सडक तथा बुडर–जोरायल–गड्सेरा सडक रहेका छन् ।

जिल्लामा गाउँ घरदेखि पर्यटकीय क्षेत्र जोड्ने शाखा सडक कालोपत्र हुने तयारीमा रहेपछि यहाँका नागरिकमा पनि खुशीयाली छाएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए। उनले भने, “हाम्रा जिल्लामा पाँचवटा शाखा सडक कालोपत्रका लागि तयारी अवस्थामा छन्, सडक कालोपत्र हुन थालेकामा यहाँ नागरिक खुशी भएका छन् ।” भौतिक पूर्वाधार कार्यालयका प्रमुख रामचन्द्र खत्रीका अनुसार प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडको पहुँच मार्गका रूपमा रहेको सिलगढीदेखि झिग्रानासम्मको १५ दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्र गर्ने कार्य तीव्रगतिमा भइरहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को योजनाअनुसार सिलगढीबाट कालिका मन्दिरसम्मको साढे सात किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ असार ३० गते सम्झौता भएको थियो । रु १५ करोड ९७ लाख १२ हजार ५४२ मा ३० महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने गरी सिएबी कन्स्ट्रक्सन प्रालिसँग भएको सम्झौतानुसार उक्त सडकको कम्तीमा पनि ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । कालिका मन्दिरबाट झिग्रानासम्मको आठ किलोमिटर सडक कालोपत्रका लागि पनि विसं २०७६ असार ३० गते सम्झौता भएको थियो । रु २२ करोड ५० हजार ४४ मा सम्झौता भएको उक्त सडकखण्डमा ५५ प्रतिशत काम सम्पन्न भइसकेको भौतिक पूर्वाधार कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्