काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नको लागि हतार नगर्ने भएका छन् । सबै पक्षलाई समेटेर अघि बढाउनेगरि उनी आन्तरिक गृहकार्यमा जुटेका छन् । माओवादी केन्द्र, जसपा र नेकपा (एमाले) को माधव नेपाल समूह र जनमोर्चाको समर्थनमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् ।
उनले सकेसम्म सबैलाई सरकारमा समावेश गराउन चाहेका छन् । प्रधानमन्त्री नियुक्त हुनुभन्दा अघि र नियुक्ती भएपछि पनि प्रधानमन्त्रीले राजनीतिक भेटवार्तामा महामन्त्री पूर्णबहादुर खड्कालाई सँगै लैजाने गरेका छन् ।
प्रधानमन्त्री देउवाले गर्ने महत्वपूर्ण भेटवार्तामा खड्का प्रायः छुट्दैनन् । कांग्रेसमा खड्का विवादमा नमुछिएका नेता हुन् । खड्काको राजनीतिक स्कुलिङ नै सन्त नेता कृष्णप्रसाद भट्टराईबाट भएकोले उनले किसुनजीको पदचापलाई पछ्याएका छन् । पार्टी सभापतिको रुपमा पनि देउवालाई सफल बनाउनको लागि उनले सक्रिय भूमिका खेलेका छन् । उनले सबैलाई मिलाउनको लागि पनि सोहीअनुसारको भूमिका खेल्ने गरेका छन् ।
संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्नुअघिपनि देउवासँगै खड्का नै महत्वपूर्ण भेटवार्तामा समावेश भएका छन् । खड्काले माओवादी केन्द्र र एमालेका माधव नेपाल समूहका नेताहरुसँग सुमधुर सम्बन्ध राखेका छन् ।
१३औं महाधिवेशनमा देउवाकै क्याम्पबाट उपसभापति बनेका विमलेन्द्र निधि भने पछिल्लो समय देउवासँग टाढिएका छन् । खासमा देउवाले पनि निधिलाई त्यति वास्ता गरेका छैनन् । निधिले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने तयारी गरेकोले देउवा उनीसँग रुष्ट छन् । लामो समयसम्म देउवा क्याम्पमा रहेका निधिले भने यसपटक देउवाको मन जित्न सकेका छैनन् । बरु, देउवाले महामन्त्री खड्काको सल्लाह र सुझावलाई आत्मसात् गर्दै अघि बढेका छन् ।
मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका प्रधानमन्त्री देउवालाई यसमा पनि खड्काले नै सघाईरहेका छन् । सकेसम्म सबैलाई समेट्ने र विवादरहित मान्छेलाई मन्त्री बनाउनुपर्ने खड्काको सुझाव छ । file photo