Logo

देउवाले देखाए सफल कार्यकालको संकेत, सबैलाई मिलाएर लाने



काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पाचौं पटक प्रधानमन्त्री भएपछि कुनै विवाद आउन नदिने गरी टिम बनाउन लागेका छन् । उनले पार्टीभित्र र बाहिर सबैलाई मिलाएर लाने गरी तयारी थालिसकेका छन् ।

देउवाले आफ्नो टिममा पुराना र नयाँलाई मिलाएर लाने गरी तयारी थालेका हुन् । महान्यायाधिवक्तामा नयाँ पीढीका खम्मबहादुर खातीलाई नियुक्ति गराएर देउवाले विवादमा नपरेका र सक्षमहरुलाई मौका दिने संकेत गरिसकेका छन् ।

मन्त्री नियुक्ति गर्दा पनि सबै पक्षलाई समेट्ने गरी देउवाले काम बढाइसकेका छन् । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य भएकालाई मात्र मन्त्री बनाउने देउवाको तयारी छ । अरु दलबाट पनि उनले त्यसरी नै नाम पठाउन भनेको बुझिएको छ ।

काँग्रेसबाट आफ्नो टिमभित्र काममा खटिन सक्ने र विवादमा नपरेकालाई मौका दिन लागेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह पक्षबाट पनि समेटेर लाने गरी देउवाले छलफल चलाएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको दुवै पक्षलाई सरकारमा समेट्दा विवादमुक्तहरुको नाम पठाउन देउवाले आग्रह गरेको बुझिएको छ । जसपाको महन्थ ठाकुर समूहलाई पनि सरकारमा ल्याएर सरकार बलियो बनाउने उनको रणनीति देखिन्छ ।

देउवाले सत्तामा रहँदा प्रमुख प्रतिपक्षीप्रति हेपाहा र पेल्ने कार्यशैली नदेखाउने सन्देश दिइसकेका छन् । उनले सबैको कुरा सुनेर बोल्ड निर्णयहरु लिने तयारी गरेको बुझिएको छ ।

विगतमा प्रधानमन्त्री हुँदा कतिपय कदम चाल्दा विवाद परेकाले यसपटक देउवा निकै संयमित भएर सरकार सञ्चालनमा बढ्ने गरी पाइला चालिरहेका छन् ।

कर्मचारीतन्त्रमा पनि अनावश्यक हस्तक्षेप नगर्ने सन्देश दिदै देउवाले काममा खटिन निर्देशन दिइसकेका छन् । उनले पार्टीपंक्तिमा उत्साह जगाउने र कर्मचारीमा पनि ढुक्कले काम गर्ने वातावरण निर्माण गर्ने गरी काम बढाएको बुझिएको छ ।-फाइल तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्