Logo

ओलीले माधव पक्षलाई भने : आममाफी भयो, आउनुहोस पार्टीमा मिलेर काम गरौं



काठमाडौं, ७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाटो विराएकाहरुको संज्ञा दिएका छन् । उनले उनीहरुलाई अब आम माफी दिईएको भन्दै पार्टीमा आएर काम गर्न आग्रह गरेका छन् । आज (बिहीबार) पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस मनाउने पार्टीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने,‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि आग्रह गर्छु। यस पार्टी र आन्दोलनको एकताका लागि आउनुस् सबैले मिलेर काम गरौं, एम्नेष्टी इज ग्रान्टेड ।’

अमेरिकी गायकको गीत सुनाउँदै ओलीले भने–‘वी श्याल ओभरकम, एण्ड नो बडी क्यान स्टप अस’

उनले पछिल्लो समय आफुहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेको पनि दाबी गरेका छन् । उनले भने,‘यो आन्दोलन एउटा मूलधारको रुपमा आयो । आज एउटा फेरि एउटा प्रतिगमन भएको छ । नेपालको परराष्ट्र नीति, कृषि नीति, शिक्षा नीति, स्वास्थ्य नीति हामीले भनेको नीतिअनुसार देश चलेको छ । हामीले तयार पारेका मानकभन्दा पर जाने अवस्था छैन् । आजको नेकपा एमालेले अगाडिदेखि चलिरहेका खराब सिलसिलालाई अन्त्य गर्नेछ । अहिले केही नेताहरु पतनको बाटोमा गएका छन् । हामी आन्दोलनलाई सही विचारको साथ अघि बढाउँछौं । पुष्पलालको मार्गदर्शनमा चलाउँछौं । नयाँ आन्दोलनमा जाने हो, यसमा नयाँ कन्फ्युजन हुनुहुँदैन् ।’

उनले पुष्पलालले रोपेको विचारको विरुवालाई मर्न नदिने पनि घोषणा गरे । उनले भने,‘ओइल्याउन पनि दिनेछैंनौं । यो सानो तिनो हावाहुरीले ढालिहाल्दैन् । उहाँको विचारलाई मदन भणडारीले प्रवलीकरण गर्नुभयो । तलाहरु थपिएका छन् । जहाँ छन् नेपाली, त्यहाँ नेकपा एमाले पुग्छ । हामी आन्दोलनलाई मर्न दिन्नौं । यो आन्दोलन संघर्षको मैदानबाट गुज्रिएर आएको हो । यो आन्दोलन स्वार्थहरुको गठजोड होईन् ।’

उनले आफू नेतृत्वको सरकारलाई डेढ वर्षदेखि ढाल्ने ठोस प्रयास भएको भएपनि विरोधीहरुले ढाल्न नसकेको दाबीगरे । उनले थपे,‘वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं । जनादेशबाट होईन । अहिले जेसुकै भएपनि, जसो भएपनि एमाले प्रमुख पार्टी त हो नि त । संसदमा एमाले प्रमुख पार्टी हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा सबभन्दा ठूलो दल नेकपा एमाले हो । प्रदेश नम्बर २ मा मात्रै हाम्रो संख्या अलिकति कम छ । यो देशकै प्रमुख राजनीतिक शक्ति एमाले हो । यो लोकतान्त्रिक आन्दोलनकै प्रमुख राजनीतिक धार हो । मार्गदर्शक हो । जनतालाई प्रशिक्षित गर्ने गुरु पार्टी हो । यसले नयाँ नयाँ विचार दिन्छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्