Logo

नर्भिकले ६ अर्ब लगानी थप्ने



काठमाडौं, साउन ८ । नर्भिक इन्टरनेसनल हस्पिटलले सेवा विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ। पब्लिक कम्पनीको रूपमा रूपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाउनेका लागि इन्डक्सन प्रोग्राम आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय विस्तार रणनीति सार्वजनिक गरेको हो।

कार्यक्रममा नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले पाँचवर्षे रणनीति सार्वजनिक गरिन्। उनले अबको पाँच वर्षभित्र नर्भिकले आफ्नो सेवालाई व्यापक रूपमा विस्तार गर्ने बताइन्।

थापाथलीमा २ अर्ब रूपैयाँभन्दा बढी लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई विस्तार गरिने उनको भनाइ छ। सेवा विस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रूपमा रूपान्तरण हुने दाबी गरिएको छ। थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय बेडको भव्य अस्पतालबाट सेवा सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ।

यस्तै, आगामी पाँच वर्षभित्र नर्भिकले भैरहवा र सुनसरीको दुहबीमा सय–सय बेडको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने जनाएको छ। ती दुवै अस्पताल निर्माणमा ३ अर्ब रूपैयाँभन्दा बढी लगानी हुनेछ। यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्ययोजनामा उल्लेख छ। पाँचवर्षे योजनामा नर्भिकले सेवा विस्तारका लागि ६ अर्बभन्दा बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन्।

नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक बसन्त चौधरीले आफूहरूले अस्पतालको स्तरीय सेवालाई व्यापक रूपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे। उनले भने, ‘सम्भवतः हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं।’

उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिकमा रूपान्तरण गरिएको बताए। ‘मेरो सपना अझ ठूलो हुँदैछ,’ उनले थपे, ‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन्। हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन्। हिजोको दिनमा एकजनाको भिजन मात्र हुन्थ्यो भने अब टिमको भिजन हुनेछ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot