Logo

सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनेबारे सोच्दैछु, जनताको निर्देशन अवज्ञा गर्न सक्दिन् : डा. भीम बहादुर रावल (भिडिओसहित)



काठमाडौं, ८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले राजनीतिक स्वस्थता, स्वच्छता, मर्यादा, राष्ट्रको सर्वोपरि हिततर्फ सबैको ध्यान जानुपर्छ र पार्टी एकताबद्ध हुनुपर्छ भन्ने आशयबाट राजीनामा दिएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले राजीनामा दिईसकेपछि देशभरिबाट, विशेषगरि मेरो निर्वाचन क्षेत्र नम्बर १ बाटको तर्फबाट व्यापक रुपमा जनप्रतिनिधिहरु, पार्टीका कार्यकर्ताहरु उहाँहरुले दबाब दिएर यसलाई रोक्नुभएको छ । अहिले यसको स्थिति त्यतिमात्रै छ ।’

अब तपाईँ युटर्न हुने हो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘म त देश, जनता र कार्यकर्ताप्रति प्रतिबद्ध व्यक्ति हुँ । उहाँहरुको स्वार्थभन्दा मेरो कुनै अलग स्वाथ छैन् । मैले जहिलेपनि उहाँहरुको सेवामा आफूलाई समर्पित गरेको छु । उहाँहरुले कुनै निर्णय गर्नुहुन्छ, मलाई तैलें यो निर्णय मान्नुपर्छ भन्नुभयो भने अब मैले जुन मर्यादा छ, अडान छ, यसमा कायम नरहने भन्ने त कुरै भएन । तर, यसमा विचार गर्नुपर्ने अवस्था आउन सक्छ ।’ जनता र कार्यकर्ताको निर्देशन आफूले अवज्ञा नगर्ने पनि उनको भनाई छ । उनले भने,‘म अहिले विचार मात्रै गरिरहेको छु ।’ उनले आफूलाई धेरै नेताहरुले राजीनामा फिर्ताको लागि दबाब आएको पनि सुनाए । उनले आफूले हतारमा नभएर सोचविचार गरेर नै राजीनामा दिएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्