Logo

भीम रावलको कित्ता परिवर्तन, ओली पक्षमा महत्वपूर्ण जिम्मेवारी पाउँदै



काठमाडौं, ८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको कित्ता परिवर्तन भएको छ । लामो समय एमाले वरिष्ठ नेता माधवकुमार नेपालको साथमा रहेका उनी अध्यक्ष केपी शर्मा ओली कित्तामा पुगेका हुन् ।

विश्वस्त स्रोतका अनुसार रावलले एमालेमा महत्वपूर्ण जिम्मेवारी पाउने भएका छन् । उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने गरी ओलीले पक्षमा पारेका हुन् ।

रावलले यसअघि सांसद पदबाट राजीनामा दिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएनन् । उनी त्यतिबेलासम्म माधव नेपालसँग निकै असन्तुष्ट भइसकेका थिए ।

एमालेभित्र पकडका हिसाबले तेस्रो शक्तिशाली बनेका रावलको कित्ता परिवर्तनले शक्ति सन्तुलनमा निकै फरक ल्याउने देखिएको छ । उनीसहित ११ सांसदले विश्वासको मतको पक्ष र विपक्ष कतै मतदान गरेनन् । रावल सुदूरपश्चिम र कर्णाली प्रदेशमा राम्रो पकड बनाएर शक्तिशाली देखिएका छन् ।

यसैगरी, रावलको कित्ता परिवर्तनले एमालेभित्र तरंग नै ल्याएको छ । माधव नेपाल पक्ष गम्भीर भएको छ । रावललाई ओली पक्षमा जान नदिन माधव नेपालले प्रयास गरेका थिए । तर, उनी सफल हुन सकेनन् । अझैपनि रावललाई तान्न नेपाल पक्ष सक्रिय भएको छ ।

बामदेव गौतम नेपाल पक्षमा गएपछि रावल असन्तुष्ट थिए । त्यसमाथि प्रेमबहादुर आले नेपाल पक्षमा पुगेपछि रावल रुष्ट छन् । उनी माधव नेपालसँगको दशकौं लामो सहकार्य तोडेर ओली पक्षमा पुगेका छन् । केही दिनमै उनले महत्वपूर्ण जिम्मेवारी पाउने घोषणा हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्