Logo

राजकिशोर यादवद्वारा गुट परिवर्तन, महन्थ ठाकुरलाई अर्को धक्का



काठमाडौं, १० साउन । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले गुट परिवर्तन गरेका छन् । महन्थ ठाकुर समूहमा रहेका यादव उपेन्द्र यादव समूहमा लागेका हुन् ।

महन्थ ठाकुर पक्षबाट उनी दुई हप्ताका लागि केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री समेत बनाइएका थिए । तर, ओली सरकार ढलेपछि यादव गुट परिवर्तनको निर्णयमा पुगेका हुन् ।

पूर्वमन्त्री यादवले पार्टी एकताका लागि ठाकुर पक्षमा लाग्न नसकेको बताए । नेपाली रेडियो नेटवर्कमा ऋषि धमलाको प्रश्नमा उनले भने, ‘म महन्थ ठाकुरजीलाई सम्मान गर्दछु । तर, निर्वाचन आयोगको निर्णय र पार्टीको बहुमतको निर्णय मान्न वाध्य छु ।’ यादवले पटक पटक पार्टी एकतामा जोड दिए ।

जसपाको कुन समूह आधिकारिक भन्ने टुंगो निर्वाचन आयोगले ११ साउनमा लगाउने तय गरेको छ । त्यस अगाडि नै ठाकुर समूहबाट कार्यकारिणी समितिका कतिपय सदस्य गुट परिवर्तनको निर्णयमा पुगिसकेका छन् ।

आफूनिकटस्थहरुले धमाधम गुट परिवर्तन गर्न थालेपछि अध्यक्ष महन्थ ठाकुर अप्ठ्यारोमा परेका छन् । उनले अब कस्तो कदम चाल्ने हुन् चासोको विषय बनेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्