Logo

राष्ट्र बैंकको नयाँ निर्देशनः बैंकिङ स्थायित्व कायम गर्न प्रोभजनिङमा कडाइ



काठमाडौं, साउन १२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई स्थायित्व दिने र सुरक्षित गर्ने उद्देश्यले नाफा नियन्त्रण गर्ने खालका निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७७ लाई संशोधन गर्दै कुल असल कर्जाको १ दशमलव ३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । आव २०७७/७८ को वार्षिक वित्तीय विवरण तयार गर्दा नै असल वर्गमा वर्गीकरण भएका कर्जाको साधारण कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ । यसअघि यस्तो सीमा १ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीको कारणले बैंकिङ सम्पत्तिको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी समग्र वित्तीय स्थायित्व प्रवर्द्धन गर्न यसको सीमा बढाएको बताएको छ । यो व्यवस्थाले बढी कर्जा रहेको बैंकको मुनाफामा असर पर्न जाने देखिन्छ । चालू आवदेखि थप शून्य दशमलव ३ प्रतिशतले कर्जा नोक्सानी बेहोर्दा बैंकको नाफामा प्रभाव पार्ने बैंकरहरू बताउँछन् ।

गत जेठसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको गरेर ४१ खर्ब हाराहारीमा कुल कर्जा रहेको छ । यसमध्ये खराब कर्जा, सूक्ष्म निगरानीको कर्जा र पुनर्तालिकीकरण गरिएका कर्जा बैंकहरूको करीब ३९ खर्ब बराबरको असल कर्जा रहेको केन्द्रीय बैंकले बताएको छ । यसमा थप शून्य दशमलव ३ प्रतिशत नोक्सानी व्यवस्था गर्दा ११ अर्ब हाराहारीमा थप कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । यसले गर्दा बैंकिङ प्रणालीको खुद मुनाफा करीब ७ अर्ब ४० करोडले घट्ने नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवालीले बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बैंकिङ प्रणालीलाई बलियो बनाउन यो नीति ल्याएको र बैंकहरूको पैसा अहिले अलिकति छुट्ट्याएर राखेको र पछि अवस्था सामान्य भएपछि फिर्ता हुने आश्वासन राष्ट्र बैंकले दिएको बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्