कृतिका प्रजापति : व्यक्तिको शारीरिक एवम् मानसिक स्वास्थ्यका लागि खानपान तथा जीवनशैलीले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपालीको चलन छ – भेटेको बेला धेरै खाने, नभेट्दा भोकै बस्ने । स्वस्थ रहन व्यवस्थित र सन्तुलित खानपानमा ध्यान दिनुपर्ने कुरा सबैलाई अवगत छ । तर पनि हामी मिठो–मसिनो खाना खान पल्केका छौं । बदलिँदो समयसँगै खानपानमा आएको परिवर्तनलाई स्वीकार्दै हामी अगाडि बढ्नुपर्ने हुन्छ । मानिसको खानपान, जीवनशैलीदेखि लिएर उनीहरूको दैनिकीमा थुप्रै परिवर्तनहरू देखापर्दैछन् ।
बच्चाको पास्नी, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण आदिको अवसर पारेर भोजको आयोजना गरिन्छन् । हामीले भोजको समयमा अरु सामान्य दिनहरूमा भन्दा केही मात्रामा धेरै परिकारहरू र पेयपदार्थ सेवन गरिरहेका हुन्छौं । नेवार समुदायमा बढी प्रचलनमा रहेको बसेर खाइने ‘सुकुल भोज’ र अहिले बढी प्रचलनमा रहेको ‘डिनर भोज’ बारे यहाँ चर्चा गर्न खोजिएको छ ।
झ्व भ्वय् अर्थात् नेवारी शैलीको भोज विशेषतः पात र टपरीको थालमा नेवारी परिकारका पकवानहरू राखेर खाइने भोज हो । परम्परागत भोज खुवाउन महिना दिनदेखि थोरै थोरै तयारीमा जुट्नुपर्ने हुन्छ । भोजमा प्रयोग गरिने रक्सी, जाँड, दही आदि पहिल्यै तयारी अवस्थामा राख्नुपर्ने हुन्छ भने भोजका लागि आवश्यक सामग्रीहरू जस्तैः च्युरा, पिठो, चामल, सागसब्जी, मसला आदि पनि पहिल्यै बन्दोबस्त गरिएको हुन्छ । नेवारी शैलीको भोजमा च्युरा, साग, आलु, अचार, छोयला, कचिला, द्याकागु ला, आलु, केराउ, काउली, गेडागुडी, भुटन, अमिलो झोल र दही आदि नेवारी परिकार राखिएको हुन्छ । भोजको अन्तिममा भिजाएको सानो केराउ, काटेको मुला तथा गाँजर र फलफूलको केही टुक्रा सलादको रुपमा राखिन्छ ।
यो भोज सक्न कम्तीमा एक–डेढ घण्टा लाग्छ । भोजका आमन्त्रितहरू लहरै सुकुलमा पलेंटी कसेर बसेका हुन्छन् । सुकुल भोजमा सबै मानिसहरूले समान रूपमा परिकार थपघट गर्न पाइन्छ । आफूलाई मनपर्ने र आफूलाई चाहिने जति खाना थपेर खान पाइने, स्वास्थ्यको हिसाबले पनि उपयुक्त, साथीभाइसँग हाँसीखुसी कुराकानी गर्दै बिस्तारै खाइने यो भोजको विशेषता हो । हाम्रो समुदायमा विभिन्न जात–जाति, भाषा–भाषी र संस्कृति छन् । उनीहरूका लागि यस्तो भोज एकदम पृथक र रोचक हुन्छ । यो भोजको विशेषताबारे प्रायः सकारात्मक टिप्पणी गरेको नै हामी सुन्छौं । ज्येष्ठ सदस्यहरू पनि यो झ्व भ्वय् नै मन पराउने बताउँछन् । झ्व भ्वय् वा सुकुल भोज आउनेहरू सामान्य पहिरनमा आउँछन् ।
आजकल डिनर भोज भन्ने बित्तिकै केटाकेटीदेखि सबैलाई मनपर्ने भोज हुन आएको छ । किशोर–किशोरीहरू नै डिनर भए मात्र भोज जाने नत्र नजाने भन्छन् । आकर्षक पार्टी प्यालेस, त्यसमाथि थरिथरिका मिठा–मिठा परिकारहरू, मेच–टेबलमा बसेर खाने भएकाले पनि यो भोज मन पराउँछन् । यस्तो भोजमा आयोजकहरूलाई खासै झन्झट हुँदैन । तर यस किसिमको भोजको लागि पनि थुप्रै कामदारहरू खटेका हुन्छन् । डिनर भोज सामान्यतः पार्टी प्यालेस तथा बैंक्वेटहरूमा हुने गर्छ । त्यसको लागि पार्टी प्यालेस पहिले नै बुकिङ गर्नुपर्ने हुन्छ । स्न्याक्स भनेर प्राउन, बदाम, फिंगर चिप्स, चिकेन, ससेज, मःमः, पकौडा तथा पेयपदार्थ आदि परिकार राखिएको हुन्छ । स्न्याक्सपश्चात् डिनरमा खानाका थुप्रै परिकारहरू राखिएको हुन्छ । डिनरमा सामान्यतः पुलाउ, दाल, साग, मासुका दुई तीन परिकार, अचार, नान रोटी, सिमी, काउली, सलादका टुक्राहरू आदि राखिएको हुन्छ । दही, जेरी, लालमोहन आदि गुलिया परिकारहरू पनि हुन्छन् । यो भोजमा आफ्नो रुचिअनुसारका परिकारहरू आफै लिन्छन् ।
यी सबै खानेकुराहरू तेल अथवा घ्यूमा तारेका हुन्छन् जुन स्वास्थ्यका लागि अति हानिकारक छ । मानिसहरू पार्टी भोज भन्ने बित्तिकै झिलिमिली लुगा, गरगहना र सजिसजाउ भएर जान्छन् । केटाकेटी, किशोर–किशोरी र महिलाहरू आइसक्रिम मन पराउँछन्, कत्ति पश्चिमी शैलीमा नाच्न मन पराउँछन् ।
बदलिँदो समयसँगै नेवार समुदायमा चलनचल्तीमा रहेको झ्व भ्वय् (सुकुल भोज) खुवाउनेहरू अहिले धेरै कम हुँदैछन् । पहिले पहिले सुकुल भोज प्रायः टोलको खुला ठाउँमा पाल टाँगेर खुवाइन्थ्यो भने अचेल विभिन्न मन्दिर छेउको भोजनगृहमा खुवाउँछन् । भक्तपुरमा विभिन्न स्थानमा पानी र बिजुलीको सुविधासहित भोज खुवाउने स्थलहरू निर्माण भएका छन् । स्थानको अभाव भएकोले मानिसहरू भोज खुवाउन त्यस्ता ठाउँहरू २–३ हजार तिरेर पहिले नै बन्दोबस्त (बुकिङ) गर्छन् । भक्तपुरमा सुकुल भोज खुवाउने स्थानहरूजस्तै कमलविनायक मन्दिर परिसर, विद्यालयका चउरहरू, महाकाली पीठ, सूर्यविनायक मन्दिर परिसर, बराही पीठ आदि बढी प्रचलनमा छन् । पार्टी प्यालेस वा बैङ्क्वेटहरूमा प्रायः सुकुल भोज खुवाउने प्रचलन नभएको हुँदा यी ठाउँहरूमा सुकुल भोज खुवाउनेहरूको भीडजस्तै हुन्छ ।
उसो त राम्रा र महँगो पहिरनमा सजिएर आएको हुँदा अचेल मानिसहरू लहरै बसेर खान रुचाउँदैनन् । अहिलेका परम्परागत झ्व भ्वय र अचेलको डिनर मानिसहरूको रोजाइमा चिल्लो–पिरो परिकार, रक्सी, धूमपान–मध्यपान आदि प्राथमिकतामा पर्छन् । यस्तो खानेकुरा जिब्रोका लागि पक्कै पनि मिठो हुन्छ तर यसले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । डिनर सिस्टमको भोजका खानेकुराहरू अपच हुन्छन् र स्वास्थ्यको हिसाबले पनि हितकर हुँदैन । अहिले जे–जति रोगहरू छन् सबै चिल्लो, पिरो, गुलियो, मद्यपान, धुमपानकै कारण उत्पन्न भएका छन् । हामी अस्पताल जाँदा मानिसले चिल्लो र पिरोको मात्रा जति सक्यो कम गर्नु राम्रो हुने डाक्टरहरूले सुझाव दिन्छन् । यसैगरी क्यान्सरको जोखिम नेपालीहरूमा महामारीको रूपमा फैलिरहेको छ । अहिले हरेक घरमा क्यान्सरका बिरामी देखा पर्दैछन् । हाम्रो जीवनशैली र खानपानकै नतिजास्वरुप यस्ता भयानक रोगहरूको जन्म भइरहेको छ ।
सुकुल भोजभन्दा डिनर भोजको प्रचलन बढेको यथार्थ हामीमाझ छ । कारण त्यसमा पैसा अलि बढी खर्च हुन्छ तर झन्झटिलो हुँदैन । तुलनात्मक रुपमा सुकुल भोजका परिकारहरू वैज्ञानिक र स्वास्थ्यको हिसाबले उपयुक्त मानिन्छ । त्यसैले हामीले हाम्रो परम्परा र संस्कृति जोगाउन पनि केही परिमार्जन गरेर सुकुल भोज खुवाउनमै जोड दिन सके हाम्रो पहिचान पछिसम्म कायम रहिरहन्छ ।
परम्परादेखि चलिआएका संस्कृतिमा आधुनिकतासँगै परिमार्जन र परिवर्तन हुनु स्वाभाविक छ । तर यसले भविष्यमा पुरानो शैलीको भोज खुवाउने परिपाटी पूर्ण रुपमा बन्द हुने खतरा पनि बढ्दै जानेछ । साथै आफ्नो क्षमता र स्तरअनुसार मात्र भोज खुवाउँदा व्यक्तिको असली पहिचान हुन्छ । अरुसँग मागेर गरगहना लगाउँदैमा, अरुको देखासिकीमा झिलिमिली गर्दैमा उसको प्रतिष्ठा उँचो हुने होइन । सुस्वास्थ्यलाई प्राथमिकता देऔं र हाम्रा संस्कृतिलाई बचाऔं । हाम्रो आफ्नो संस्कृति जोगाउन आफै अग्रसर भएर लागौं ।