काठमाडौं, १२ साउन । प्रतिनिधिसभा सदस्य गजेन्द्र बहादुर महतले वर्तमान सरकार पनि गफाडी हुने हो कि भन्ने चिन्ता लागेको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हाम्रो मन्त्रीज्यूले गरिबहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउँछौं भनेर सोचेको कुरा समाचार आएको छ, झट्ट हेर्दा यो शब्द लोकप्रियजस्तो लाग्छ, तर यो शब्द कालान्तरमा हाम्रो जिब्रोको पासो हुनेछ । भर्खरै हामीले एउटा गफाडी सरकारलाई विदा गरेका छौं । अब अर्को सरकार पनि गफाडी हुने हो कि भनेर मलाई चिन्ता लागिरहेको छ, सभामुख महोदय । किनभने खनखन पैसदा दिउँला भन्दापनि कर्णालीमा बत्ति पुगेको छैन भने निःशुल्क विद्युत दिने कुरा नगर्दा राम्रो होला । किनभने अगुल्टोले हानेको कुकुर विजुली चम्कँदा तर्सन्छ । हामी माननीयहरु यी भुतले खाना खानेबेला तर्सिएका माननीयहरु हौं । हामी भूतले खानेबेलामा माननीय भएछौं । त्यसो भएको हुनाले यी माननीय मन्त्री र यो सरकारले गर्दा अहिले हामीले कस्तो अवस्था भएको छ भने यो लोगो लुकाएर हिँड्नुपर्ने अवस्था छ। तपाईलाई यो पत्यार लाग्छ कि लाग्दैन्, सभामुख महोदय ? अहिले हामी यो लोगो लुकाएर हिँड्छौं । धेरै गाह«ो भैराखेको छ । त्यसो भएको हुनाले यो सरकारलाई ज्ञात होस । जानकारी होस । धन्यवाद ।’