Logo

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं, साउन १३। नेपाल निर्माण व्यवसायी महासंघका वर्तमान अध्यक्ष रवि सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मंगलवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मध्यपहाडी राजमार्गको खोटाङ खण्ड निर्माणमा अनियमितता गरेको भन्दै आयोगले उनीसहित योजना प्रमुख, लेखा प्रमुख र इन्जिनियरविरुद्ध ६८ लाख ९३ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

उक्त राजमार्गको चेनेज ४२ं०० देखि ८८ं५०० खण्ड निर्माण ठेक्का सम्झौताअनुसार नगरेको र एउटै चेनेजमा दुईओटा ठेक्का गरेर भुक्तानी लिने दिने गरेको भन्दै आयोगले महासंघका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै सिंह, तत्कालीन योजना प्रमुख विजय चापागाईं, इन्जिनियर दीपककुमार खड्का, सबइन्जिनियर गजेन्द्रप्रसाद राउतविरुद्ध उक्त रकम मागदाबी गरेको छ ।

लेखा अधिकृत फुँयालविरुद्ध भने २१ लख ४९ हजारको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय गरी बिगोसमेत जफत गर्न माग गरेको छ ।

उक्त राजमार्गमा ठेक्का सम्झौताअनुसार काम नगरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार तथा अनियमतिता गरेको पाइएको आयोगले उल्लेख गरेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot