Logo

फाइभ–जी परीक्षणको बाटो खुल्यो



काठमाडौं, साउन १३। पाँचौँ पुस्ताको नवीनतम प्रविधि मानिने फाइभ–जीसहित अन्य नयाँ प्रविधिको परीक्षणका लागि बाटो खुला भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको हालै बसेको बोर्ड बैठकले ‘फाइभ–जीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गर्दै नयाँ प्रविधिका लागि बाटो खुला गरिदिएको हो ।

यससँगै फाइभ–जीसहित मेसिन टु मेसिन (एमटुएम), इन्टरनेट अफ थिङ्स (आईओटी)लगायत नयाँ प्रविधिको परीक्षण गर्न चाहने सेवा प्रदायकहरूले अनुमतिका लागि प्राधिकरणमा निवेदन दिन सक्नेछन् । कार्यविधिले नयाँ प्रविधि परीक्षणका लागि कानुनी तयार गरिदिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

फाइभ–जीसहित नयाँ प्रविधिका लागि बजार तयार भइसकेको छ । उनले भने, कुनै सेवा प्रदायकले त्यसको परीक्षण गर्न चाहेमा अब बाटो खुला भएको छ । कार्यविधिले नयाँ प्रविधि परीक्षणका प्रक्रिया स्पष्ट गरिदिएको छ । त्यसका लागि सबैभन्दा पहिला परीक्षणका लागि निवेदन पेस गर्नुपर्नेछ ।

निवेदनमा नयाँ प्रविधिको जानकारी, परीक्षण गरिने स्थानहरू, उपलब्ध गराइने सेवाहरू, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सीको विवरण र नेटवर्क जडान र सञ्चालनको समय तालिका उल्लेख गरेको हुनुपर्नेछ । नयाँ प्रविधिको परीक्षण गर्दा ग्रामीण एवं सहरी दुवै क्षेत्र समेट्नु पर्नेछ । निवेदनको अध्ययन गरेर प्राधिकरणले परीक्षणको स्वीकृति प्रदान गर्न सक्नेछ ।

स्वीकृतीपछि नेटवर्क निर्माण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । नयाँ प्रविधिको परीक्षणका लागि आवश्यक पर्ने उपकरणहरू आयात तथा जडानको कार्य सुरु गर्नुपर्नेछ । यस्ता उपकरण आयातमा प्राधिकरणले भने सहजीकरण गर्नेछ । उपकरण जडान गरेपछि त्यसको जानकारी प्राधिकरणलाई गराउनुपर्नेछ ।

निवेदन स्वीकृत भएको तीन महिनासम्म पनि उपकरण आयात तथा जडान नभएमा स्वीकृति फिर्ता लिन सकिने व्यवस्था कार्यविधिले गरेको छ । विश्वास रेग्मीले आजको गोरखापत्र दैनिकमा खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot