विराटनगर, साउन १३। नेपालबाट भारत निकासी हुँदै आएको प्रशोधित पामोलिन तेलमा रोक लागेपछि नेपालका उद्योगीले भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखेका छन् । भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखिएसँगै भन्सार कार्यालय विराटनगरबाट गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमासको तेल पहिलो सूचीमा देखिएको हो ।
मोरङ र सुनसरीमा सञ्चालित स्वस्तिक आयल, क्वालिटी आयल, पशुपति खाद्यतेल उद्योग, बाबा आयल, बागमती आयल, श्रीराम रिफाइनरी र एभरेस्ट सोल्भेन्टले साढे १५ अर्ब रुपियाँभन्दा बढीको भटमासको तेल निर्यात गरेको पाइएको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आवमा १५ अर्ब ६७ करोड ३१ लाख रुपियाँ बराबरको ९० हजार ३१० मेट्रिक टन भटमासको तेल निर्यात गरिएको छ ।
निर्यात मात्रै नभई आयाततर्फ मूल्यका आधारमा सबैभन्दा बढी पैठारी हुनेमा पनि भटमासको कच्चा तेल भएको छ । उक्त आवमा १४ अर्ब ९० करोड ५६ लाख मूल्यको एक लाख २० हजार टन भटमासको कच्चा तेलको पैठारी गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
विराटनगर भन्सार हुँदै निकासी हुने दोस्रो वस्तुमा सिन्थेटिक यार्न छ । करिडोरको एक मात्र उद्योग रिलाइन्स स्पिनिङले सिन्थेटिक यार्न निकासी गर्दै आएको छ । रिलाइन्सले पाँच अर्ब ४९ करोड आठ लाख रुपियाँको २१ हजार १५६ टन धागो निकासी गरेको छ ।
यसैगरी जुुट गार्मेन्ट तेस्रो नम्बरमा निकासी हुने वस्तुको सूचीमा रहेको छ । गत आव चार अर्ब २९ करोड दुई लाखको नौ करोड ४५ लाख ५७ हजार वर्गमिटर जुट गार्मेन्ट निकासी भएको हो । त्यस्तै जुटका झोला र बोराको निकासी दुई अर्ब ४१ करोड ४८ लाख बराबरको १६ हजार ५९३ टन गरिएको छ । आजको गोरखापत्र दैनिकमा नवराज कट्टेलले खवर लेखेका छन् ।