नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री दीपक खड्काले उमेश श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाईएको विषयमा अहिले भैरहेको टिकाटिप्पणी र आलोचनामा आफ्नो असन्तुष्टि पोखेका छन् । उनले श्रेष्ठ मन्त्री बन्न योग्य व्यक्ति भएको उल्लेख गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भने-“उहाँभन्दा योग्य मान्छे मलाई देखाउनुहोस त ? नेपालमा कति जना योग्य मान्छे रहेछन्, मलाई देखाउनुहोस त ? यत्रो प्राईभेट सेक्टरमा एउटा सफल व्यवसायी, एउटा पढेलेखेको मान्छे, दुई पटक सांसद भैसकेको मान्छे, यो क्याटेगोरीको मान्छे कति मान्छे रहेछन नेपालमा ? कोरोना महामारी छ अहिले, यसमै पिएचडी गरेको छ कोही छैन अहिले ।” प्रस्तुत छ नेता खड्कासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा होला त ? अहिले हुँदैन कि भनेर धेरैले आशांका गरेका छन् नि ?
यो क्रियाशिल सदस्यताको काम समयमै सम्पन्न नभएको कारणले संकट उत्पन्न भएको देखिन्छ । लगभग एक महिनाजति समय बाँकी छ हामीसँग । अहिले कोरोनाको महामारीको कारण छँदै छ । वर्षात् छ । यो सब कुराहरु सत्य कुरा हो । तर, महाधिवेशन नगरीकन नभाको पनि परिस्थिति छ । त्यसकारणले महाधिवेशनको सन्दर्भमा अब निर्वाचन तयारी समितिले पनि अलि समय मागेको भन्ने भनाई छ । उहाँहरुले समय चाहिन्छ भनेको अवस्था छ । र, यसो भएको कारणले मेरो चाहीँ तपाईको यो लोकप्रिय सञ्चारमाध्यममार्फत पनि नेताहरुलाई मेरो आग्रह छ, सुझाव छ । र, अस्ति भेटेर पनि भनेको छु । हामी भदौबाट सुरु गरेर कार्तिक, मंसिरको सेड्युल एकैचोटी निकालेर अधिवेशन सुरु गरौं । त्यसो भयो भने कोभिडको समस्यालाई पनि त्यो बीचमा खोपले सपोर्ट गर्दै लैजाने र वर्षापनि सकिने र वडामा पनि निर्वाचन गर्न सहज हुने । धेरै मान्छे भेला नहुँदापनि हुने र प्रतिनिधिहरु पठाएर त्यहाँको निर्वाचन गराउन सकिन्छ । त्यसो भयो भने पार्टीको आधिकारिकता पनि रह्यो, कानूनी हिसाबले पनि यसमा धेरै प्रश्न नउठ्ने, र अधिवेशन पनि राम्रो ढंगले सम्पन्न हुने भनेर मैले सल्लाह दिएको छु । अहिले किन ढिलो भयो भनेर कता भयो ? भनेर जानु हुँदैन् ।
तपाईको नयाँ प्रस्ताव के आयो भने महाधिवेशनको प्रक्रिया भदौबाट सुरु गर्ने तर कार्तिक, मंसिरसम्म सम्पन्न गरिसक्ने भनेको हो ?
हो । बढिमा कार्तिक, मंसिरसम्मको एकैचोटी सेड्युल निकालौं । एकैचोटी कार्यतालिका सार्वजनिक गनुर्छ । यसो गर्दा अब बाहिर कांग्रेसले महाधिवेशन गर्दैन कि भनेर कसैले भन्दैन् । सुरुवात पनि हुने र यो वर्षा र कोभिडलाई र प्रक्रियागत ढिलाईलाई पनि यसले सहयोग पुर्याउने हुँदा यो चाहीँ सम्पन्न हुने तर्खरतिर अगाडि बढ्छ ।
यहाँले भनेजस्तै भदौबाट अधिवेशन सुरु गरेर कार्तिक वा मंसिरसम्म सम्पन्न गर्दा संवैधानिक संकटहरु आउँदैन् ?
यो तपाईको भन्नपनि सकिन्छ र देख्नपनि सकिन्छ कि महाधिवेशन सुरु भैसकेको छ, कार्यतालिका आईसकेको छ, कोभिडको बीचमा पनि कांग्रेसले आफ्नो महाधिवेशन गर्न थाल्यो भन्ने सन्देशपनि प्रवाह हुन्छ । विगतमा ढिलासुस्ती भएको कुरालाई बिर्सिएर यसमा जान सकिन्छ । हामीले कानूनी हिसाबले पनि सहयोगकै रुपमा पनि यसलाई मानेर पूरा गर्न सकिन्छ । त्यसो भयो भने कानूनी हिसाबले धेरै ठूलो संकट आउँछ भन्ने मलाई लाग्दैन् ।
त्यसो भयो भने अब पार्टी संवैधानिक संकटमा पर्दैन्, हो ?
त्यसो हुँदा नहुनुपर्छ ।
तपाईँले भनेजसरी काम गर्न नेतृत्व तयार छ त ?
मैले अघि पनि तपाईँलाई के आग्रह गरें भने यो मेरो चाहीँ उहाँहरुलाई सल्लाह र धारणा हो । मैले नेताहरुसँग यो विषयमा कुरा गरेको छु । मिति तोक्ने, फेरि सर्ने, मिति तोक्ने अनि फेरि सर्ने गर्दा यसले राम्रो सन्देश जाँदैन् । त्यसो भएको हुँदा महाधिवेशन हुनेगरि कुरा गरौं भनेको हुँ । मैले यो खालको सल्लाह दिएको छु ।
तर, विशेष महाधिवेशन गर्नुपर्छ भन्नेपनि आवाज त पार्टीभित्रैबाट आएको छ नि ?
त्यो अर्को विषय हो त्यो । जस्तै, होईन त्यसरी हामी गर्न सक्दैनौं भन्ने हो भने डेढ वर्षजति यहलाई राख्नेगरि एउटा विशेष महाधिवेशन गरेर त्यसपछि स्थानीय निर्वाचन पनि सकौं, केन्द्रको निर्वाचन पनि सकौं, दुई वर्ष उता सारेर यो निर्वाचन सकेर पार्टीको निर्वाचन गरौं । त्यसो भयो भने अझ कांग्रेसलाई पार्टीका हिसाबले बढि बल पुग्छ ।बढि फाईदा हुन्छ । त्त्यसै ढिला भैसक्यौं भन्ने पनि लागेको छ । त्यसो भएको हुनाले शीर्ष तहका नेताहरु छलफलमा जुट्नुभएको छ। मैले यतिमात्रै भन्न मिल्छ । यो भन्दा बढि भन्न मलाई सुहाउँदैन् । नेताहरुले कुनै न कुनै निकास निकाल्नुहुन्छ ।
लकडाउनको बेलालाई शून्य समय मानेर र संविधान संशोधन गरेर पनि जान सकिन्छ भन्ने प्रस्ताव पनि आएको छ नि ?
शून्य समय भन्ने कुरा त, हुन त सबै पार्टीमा समस्या छन् । तर, शून्य समयको धेरै कुरामा फरक पर्छ । सरकारले कुनै पनि एउटालाई शून्य समय मान्ने हो भने आर्थिक क्षेत्रमा फरक पर्छ, के केलाई शून्य समय मान्ने ? कोभिड त एउटा क्षेत्र वा वस्तुलाई मात्रै भएको होईन नि, यो त समग्रलाई भएको कुरा हो नि । यसले ठूलो आर्थिक नोक्सानी मुलुकमा हुन सक्छ । यो शून्य समय भन्नलाई सजिलो छ । तर, यसको व्यवहारिक पक्ष असाध्यै गाहो छ । त्यसो भएको भएर यो शून्य समयलाई उच्चारण गरिरहँदा धेरै कुरालाई ख्याल गरिरहनुपर्छ जस्तो मलाई लाग्छ ।
त्यसो भए संविधान संशोधन पनि असम्भव छ ?
यो त दुई तिहाई मत पुर्याउने कुरा हो । अब संविधान संशोधन गर्नतिर, हामी चाहीँ आफ्नो अनुकुलतामा धेरै कानूनी कुरा चलाउनुहुन्छ र चल्नुहुन्छजस्तो मलाई लाग्दैन् । त्यसो भएको कारणले सबै पार्टीलाई अप्ठ्यारो परेको हुनाले संविधान संशोधन हुनसक्ने विषय हुनसक्छ । यस्तो कुरा संविधान उल्लेख गर्न नहुने विषय थिए, अब गरिसकियो । अहिले ठ्याक्कै मुखमा आएर संविधान संशोधन गर्दा त्यसबाट पर्ने प्रभाव, र जनताको बुझाई कस्तो रहन्छ त्यो भन्न सकिन्न । मैले संविधान संशोधन नै गरेर अघि बढ्नुपर्छ भन्ने कुरालाई त्यति महत्व र जोड दिन चाहन्नँ ।
अब प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएन ? उमेश श्रेष्ठलाई स्वास्थ्यराज्यमन्त्री बनाईँदा आलोचना भयो नि ?
अब हेर्नुहोस, पहिलो प्रश्नको उत्तर, जहाँसम्म ढिला भयो भन्ने कुरा, यो सरकारको निर्माण नै यसरी भयो कि हामी नेपाली कांग्रेस सानो संख्यामा थियौं । सबैको साथ, सहयोगले गठबन्धन बनेको छ । सरकार निर्माण भयो । विगतको सरकारको उदण्डताको कारण यो सरकार निर्माण भयो । त्यसो भएको कारणले ती गठबन्धनमा रहने पार्टीहरुको बीचमा आ आफ्ना समस्या थिए । जसपाको समस्या छ । माधव कुमार नेपालको अझै समस्या यथावत छ । त्यसकारणले सरकार गठनमा ढिलाई भएको हो । तर, अब यो हप्ताभित्र सरकार गठन भैसक्छ । जसपाको समस्या टुँगो लागिसकेको छ । माधव नेपाल समूहको केही कुरा थाँती राखेर सरकार गठन हुन्छ । अब ढिलाई गर्नुहुन्न भन्ने कुरा उठिसकेको छ । धेरै समस्या पनि छैन् । जहाँसम्म मन्त्री बनाईएको कुरा गर्नुभयो, खासगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाईएको विषयमा कुरा गर्नुभयो, यो चाहीँ अनावश्यक प्रचारबाजी हो । एउटा माननीय मन्त्री हुने हो । हिजोको दिनमा हारेका मान्छेहरु राष्टियसभामा ल्याउँदासमेत त्यो कुरा, माननीय मन्त्री नबने को हुने त ? भन्नुहोस त ? तपाईँ हामी गएर मन्त्री हुने कुरा भएन ।
उमेश श्रेष्ठलाई नै स्वास्थ्यमन्त्री बनाईनुको कारण के त ?
बास्तवमा उमेश श्रेष्ठलाई फुलमन्त्री दिनुपर्ने हो । किन राज्यमन्त्री दिईएको मलाई अचम्म लागिरहेको छ । बौद्धिक व्यक्तित्व, हामी त समावेशी भन्छौं । समावेशी भनेको जातलाई मात्रै होईन क्या, विभिन्न क्षेत्र, वर्ग सबैलाई समेटेर ल्याउने, एउटा विद्धता भएको व्यक्तित्व, एउटा सुझबुझ भएको व्यक्तित्व, एउटा पढेलेखेको व्यक्तित्व, दुई चोटी सांसद भएको मान्छे, जम्मा राज्यमन्त्रीमा लगेर राखेको छ । फुलमन्त्री दिएपनि हुन्थ्यो । किन राज्यमन्त्री दिनुभयो, यो मलाई थाहा भएन । तर, अहिले जतिपनि मैले देखें, यो कुण्ठा हो । यस्ता कुण्ठाले समाज अगाडि बढ्दैन् । एउटा सफल, सक्षम, सवल र शिक्षित मान्छेलाई मन्त्री बनाउँदै गर्दा यसमा विरोध किन भएको ? म पनि आश्चर्यचकित छु । मैले पनि हेरें सामाजिक सञ्जाल, मिडियापनि हेरें । यस्तो गतिविधि राम्रो होईन । यसले मुलुकलाई अगाडि बढाउनेभन्दापनि पछाडि धकेलिने हुन्छ । एउटा गरि खाएको मान्छे, लोभलालचमा पर्न नपर्ने मान्छे, काम सम्पादन चाँडो सम्पन्न गर्नसक्ने मान्छे, एउटा विभिन्न प्राइभेट सेक्टरमा पनि राम्रो व्यवस्थापन गरेर सफल व्यवसायी भैसकेको मान्छे, सरकारमा बस्दापनि उसले आफ्नो कार्यसम्पादन झन सफल रुपमा गर्न सक्छ भन्ने मेरो विश्वास छ । त्यसो भएको हुनाले यस्तो क्षमता भएको व्यक्तिहरुको विषयमा, उसले गरेका कार्यसम्पादन नै नहेरीकन टिकाटिप्पणी गर्ने होईन कि, व्यवसायमा लागेका व्यक्ति सांसद हुनै हुँदैन भनेर भन्नुपर्यो कि ।
तर, अहिले उद्योगपति तथा व्यापारीलाई मन्त्री बनाउनु हुँदैन भनेर चर्चा भएको छ नि ?
कि त्यसो भन्नुपर्यो, विगतमा पनि धेरै उद्योगपति सांसद पनि नभएको अवस्थामा मन्त्री बनाएको हाम्रो देशमा इतिहास छन् । उहाँ त दुई चोटी सांसद भैसक्नुभयो । उहाँ म व्यवसायमा सफल भएँ । अब कांग्रेसलाई सफल बनाउँछु। मेरो सोच, मेरो दिमाग, मेरो बुद्धि, मेरो व्यवस्थापकीय क्षमता सबै कुरा म कांग्रेसमा खर्चिन्छु भनेर आएको मान्छे र सांसद भएको मान्छे के कारण मन्त्री हुन नपाउनु ? ज जसले यो विरोध गर्नुभएको छ, उहाँहरुलाई मेरो प्रश्न छ ।
महामारीको बेलामा योग्य र सक्षम मान्छेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुपर्दथ्यो भन्ने गुनासो आएको छ नि ?
उहाँभन्दा योग्य मान्छे मलाई देखाउनुहोस त ? नेपालमा कति जना योग्य मान्छे रहेछन्, मलाई देखाउनुहोस त ? यत्रो प्राईभेट सेक्टरमा एउटा सफल व्यवसायी, एउटा पढेलेखेको मान्छे, दुई पटक सांसद भैसकेको मान्छे, यो क्याटेगोरीको मान्छे कति मान्छे रहेछन नेपालमा ? कोरोना महामारी छ अहिले, यसमै पिएचडी गरेको छ कोही छैन अहिले ।
अस्पतालको सञ्चालकलाई नै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन मिल्छ त ?
अस्पतालको सञ्चालकमा उहाँ नरहनुभएको होला, यो विषयमा म भन्न सक्दिन् । तर, मलाई लाग्छ अहिले उहाँ सञ्चालकको रुपमा हुनुहुन्न । उद्योग, धन्दा विस्तार गर्दा कोभिड आयो, त्यही कोभिडको आसपासमा एउटा अस्पताल लिनुभएको छ भन्ने कुरा मैले पनि सुनेको हुँ । उहाँले सेवाकै रुपमा अस्पताल लिनुभएको भनेर मैले पनि सुनेको हुँ । त्यो हो भनेपनि झनै राम्रो काम गर्नुभएको छ । यस्तो काम गर्नेलाई प्रोत्साहन पो गर्नुपर्छ ।