Logo

बाघ संरक्षणसँगै मानवीय क्षतिको चुनौती



काठमाडौं, साउन १४। आज विश्व बाघ दिवस । बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ मनाइँदै छ तर बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ ।

नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षण नेपालले उच्चतम सफलता हासिल गरे पनि द्वन्द्व भने समाधान हुन सकेको छैन ।

सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएका थिए । सन् २००९ को बाघको गणना गर्दा नेपालमा १२१ वटा बाघ थिए ।

सन् २०२२ मा त्यो सङ्ख्या बढाएर २५० बनाउने लक्ष्यअनुसार काम भइरहेको छ । फलस्वरूप सन् २०१८ मा भएको गणनामा नेपालमा २३५ बाघ भेटिएका छन् । संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहँदा सन् २०२२ सम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ ।

यसरी एकातिर बाघको सङ्ख्या बढिरहँदा बाघ पाइने संरक्षित क्षेत्र वरिपरि बाघको आक्रमणबाट हरेक वर्ष स्थानीय बासिन्दा पीडित हुनेको सङ्ख्या पनि वृद्धि भइरहेको छ ।

गत वर्ष मात्र बर्दियामा राष्ट्रिय निकुञ्जकै एक जना कर्मचारीसहित १२ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ भने यही साउनमा फेरि बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ ।

चितवनमा गत वर्ष पाँच जना व्यक्तिको बाघको आक्रमणमा परी ज्यान गयो । धमाधम बाघले मान्छे मार्न थालेपछि समस्याग्रस्त बाघ डार्ट गरी राखिएको छ । यस्ता बाघ चितवनका खोरमा दुईवटा र बर्दियामा दुईवटा रहेका छन् ।

जङ्गलमा छाड्दा पुनः ठूलो क्षति हुन सक्ने सम्भावना बढेपछि बर्दियाबाट एउटा र चितवनबाट दुईवटा बाघ जावलाखेलको सदरचिडियाखानामा ल्याइएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot