Logo

यात्रा : मार्को पोलोले यसरी संसार घुमेका थिए



भेनिसका व्यापारी दाजुभाइ निकोलो र माफियो पोलो सन् १२५० तिर कन्स्टान्टिनोपोल जाने व्यापारिक जहाज चढे । पोलो दाजुभाइले आफ्नो व्यापारिक माल-मेटेरियल तह लगाइसकेपछि पश्चिमी तारतारतिर जाने निधो गरे । किनभने त्यहाँ महँगा रत्न र गरगहनाको अत्यधिक माग थियो ।

पोलो दाजुभाइले चार वर्षपछि मात्र कन्स्टान्टिनोपोल छाडे र एउटा लम्बे सफरपछि पश्चिमी तारतारका प्रमुख बरखको दरबारमा हाजिर भए । बरखको दरबारमा एक वर्ष बिताएपछि कन्स्टान्टिनोपोलतिरको फिर्ती यात्रा थाले । पूर्वी तारतारको प्रमुख हुलागूसँग बरखको लडाइँ सुरु भएकाले चल्तीको बाटो बन्द भयो अनि घुमाउरो बाटो हुँदै बुखारा सहर पुगे ।

त्यहाँ चिनियाँ सम्राट् कुबलाई खानको दरबारमा हुलागूका राजदूतका रुपमा जान लागेका तारतारका एक भारदार भेटिए । तिनले पोलो दाजुभाइलाई युरोप फिर्नुको साटो चिनियाँ सम्राट्लाई भेट्न सहमत गराए र उनको ‘कृपादृष्टि’ रहने विश्वास पनि दिलाए ।

त्यो यात्रा एक वर्ष लामो रह्यो । चिनियाँ सम्राट्ले युरोपका मामलामा सोधखोज गरे र पोलो दाजुभाइलाई पोपकहाँ चिनियाँ राजदूतका रुपमा इटाली पठाउने निधो गरे । उनीहरू अप्रिल १२६९ मा एकरे पुगे । उनीहरूले त्यहाँ पोप क्लिमेन्ट चतुर्थ मरेको खबर सुने । पोपका प्रतिनिधिको सल्लाहको मान्दै आफूलाई रोममा प्रतिनिधिका रुपमा प्रस्तुत हुनका निम्ति नयाँ पोपको निर्वाचनसम्म पर्खने निधो गरेर भेनिसतिर लागे ।

त्यहीँ निकोलोले अर्को खबर सुने, कन्स्टान्टिनोपोलबाट यात्रा सुरु गरेको केही समयपछि अर्थात् सन् १२५४ उनकी श्रीमती एउटा छोरा जन्माएर बितिन् । र, त्यो १६ वर्षको लक्का जवान भइसकेको छ । निकोलोका तिनै छोरा मार्को पोलो नै पहिलो विश्वप्रसिद्ध यात्री बने ।

पोलो दाजुभाले दुई वर्ष पर्खिए । नयाँ पोपको चुनाव धेरै लम्बिएपछि आफ्नो काम पूरा नगरीकनै आकरे हुँदै चीन फर्किने तरखरमा लागे । तर, जहाज किनाराबाट देखिन नछाड्दै आकरेका पोपका प्रतिनिधिले आफैंलाई पोपका रुपमा निर्वाचित गराएको कुरा थाहा भयो । भेनिसका व्यापारी पोलो दाजुभाइलाई फिर्ता बोलाइयो र पोपका राजकीय पत्रहरू दिइयो । सन् १२७१ मा पोलोत्रय निकोलो, माफियो र छोरा मार्कोले चीनतिरको पैदल यात्रा सुरु गरे ।

सम्राट् कुबलाई खानले छोरा मार्कोलाई मन पराए र निजी सचिवालयमा नियुक्त गरे । मार्को शनैः शनैः त्यहाँको उच्च ओहदामा पुगे र एकपटक त याङ्चाउ सहरको राज्यपाल समेत भए । कुबलाई खानको राजप्रासाद सेवामा रहँदै पूर्वी एसियाको भ्रमणमा लागे । चीनका उत्तरी प्रान्तहरू लगायत युनान, बर्मा, कोचिन र भारत भ्रमण गरे। र, अन्त्यमा युरोप फर्केपछि यात्रा वृत्तान्त लेखे, ‘द ट्राभल्स अफ मार्को पोलो’ । यसमा सन् १२७१ देखि सन् १२९५ सम्मको साहसिक यात्रा वर्णन छ ।

चीनमा १७ वर्ष बिताइसकेपछि चीनमा रहेका मार्कोसँगै उनका बाबु र काका युरोप फर्कन नपाएर छट्पटाइरहेका थिए । उनीहरूले कुबलाइ खानकहाँ फर्कने अनुमतिका निम्ति बिन्ती नचढाएका पनि होइनन् । तर कुबलाई खान उनीहरूलाई युरोप फर्कने अनुमति तयार भएनन् । यी भेनिसका व्यापारी दाजुभाइ अपरिचित भूमिमै मर्न अभिशप्त रहेको ठान्न थाले ।

त्यही समय कुबलाइ खानको पनाति नाता पर्ने पर्सियाका राजकुमार अर्घुंको राजदूतका रूपमा त्यहाँ पुगे । उक्त राजदूतले अर्घुंकी श्रीमतीको मृत्युको खबर सुनाए र मर्ने बेलामा उनको ठाउँ चिनियाँ दरबारको कुनै राजकुमारीले लेओस् भन्ने निवेदन गरेको सन्देश दिए । उक्त राजदूतको उद्देश्य चिनियाँ राजकुमारी प्राप्त गर्नु थियो। ‘त्यो निवेदनलाई सकारात्मक रुपमा लिइयो’ भन्दै मार्को पोलोले लेखेका छन् – ‘महाराजधिराजको निर्देशन बमोजिम कोगाटिन नाम गरेकी एउटी सत्र वर्षकी पठ्ठी, साह्रै सुन्दरी तथा सुसंस्कृतलाई देखाउँदा पर्सियाका राजदूतहरू अत्यन्त प्रसन्न भए ।’

राजकुमारी पाएपछि ती राजदूत फिर्ती यात्राका लागि निस्के; तर धेरै महिनाको पैदल यात्रापछि उनीहरूले त्यस राज्यमा आन्तरिक गडबडीका कारण बाटो अवरुद्ध भएकाले राजधानी फिर्न बाध्य भए । त्यस बेला मार्को पोलोले इस्ट इन्डिजको यात्रा भर्खरै सिध्याएका थिए । र, ती राजदूतले मार्कोसँग परामर्श गरेपछि समुद्री बाटोबाट पर्सिया फर्किने निधो गरे । त्यस यात्राका लागि कुबलाइ खानले मजबुत र दुई वर्षसम्म टिक्ने चौध वटा ठूलठूला जहाजको बेडा तयार गर्न लगाए । हिँड्ने बेला राजदूतले पोलोहरूलाई आफूसँगै लैजाने अनुमतिका निमित्त सम्राट्लाई आग्रह गरे । राजदूतले पोलोहरूको समुद्रसम्बन्धी बृहत् ज्ञान र ती राजकुमारीको सुरक्षाको सुनिश्चित हुने कारण पेस गरे । कुबलाई खानले अन्त्यमा गएर उनीहरूका आग्रह स्वीकार गरे । ती राजकुमारी, ती राजदूतहरू एवम् पोलोहरूले सन् १२९२ को सुरुमा फुकिएन प्रान्तको चीन चिउ बन्दरगाहबाट समुद्री यात्रा प्रारम्भ गरे । यो साहसिक यात्रा पर्सियन खाडीको ओरमुजमा आइपुगेपछि यात्रीहरूलाई कुबलाई खानको मृत्यु भएको खबर सुनाइयो । यो सन् १२९४ तिरको कुरा हो । त्यस्तै जसकी श्रीमती बनाउन भनेर ती राजकुमारीलाई ल्याइएको थियो, ती अर्घूंको पनि मृत्यु भइसकेको थियो । त्यत्तिबेला उनीहरूले मुलुकभित्र अराजक स्थिति भएको पाए । तर केही समयपछि अर्घुंका छोरा घजनले आफ्नो आधिपत्य स्थापित गरे, राजाको उत्तराधिकार हात पारे र उनले नै बाबुले सौतेनी आमा बनाउन ल्याएकी राम्री तथा सुसंस्कृत कोगाटिनसँग विवाह गरे।

पोलोहरूले पुनः आफ्नो यात्रा सुरु गरे र धेरै दुःख, कष्ट उठाउँदै सन् १२९५ मा भेनिस पुगे । तर भेनिसमा उनीहरू मरिसकेको कथा फैलिएर पनि सेलाइसकेको थियो । उनीहरूले आफ्नो घरमा गएर आफैंलाई चिनाए, उनीहरूले आफ्ना घरहरू टाढाका नातेदारले कब्जा जमाएको पाए । ती नातेदारहरूले उनीहरूलाई चिन्न समेत अस्वीकार गरे । अन्तिममा उनीहरू आफ्नो परिचय स्थापित गर्न सक्षम भए । तिनीहरुले  कुबलाई खानसँग चीन फर्कने कबूल गरे पनि उनको मृत्यु भइसकेकाले फर्कन चाहेनन् । तीन वर्षसम्म उनीहरूले आफू जन्मिएको सहरमा शान्तपूर्ण जीवन व्यतीत गरे।

सन् १२९८ मा भेनिस र जेनोआबीच लडाइँ सुरु भयो । लडाइँमा मार्को पोलो भेनिसका एड्मिरल आन्द्रेया डान्डोलोको मातहतको लडाकू समुद्री जहाजहरूमध्ये एकका सर्वोच्च सेनानायक बनाइए । उनलाई ६ सेप्टेम्बर सन् १२९८ मा कुरजोलामा भएको समुद्री युद्धमा बन्दी बनाई जेनोआ लगियो । जेलमा रहँदा जेनोआका लेखक रुस्टी चेलोसँग उनको परिचय भयो । तिनै लेखकले मार्कोपोलोसँगको बारम्बारको संवाद र भेनिसबाट ल्याइएका यात्रीका टिपोटहरूको सहयोगमा ‘द ट्राभल्स अफ मार्को पोलो’ लेखे । पुस्तकमा कुबलाई खानको भारदारी सभा, विभिन्न चिनियाँ प्रान्तहरू, सम्राट्को जागिरे हुँदा मार्को पोलोले यात्रा गरेका विभिन्न देश र महत्त्वपूर्ण आन्तरिक मामिलाका विवरण समेटिएको छ।

स्रोतः एलेन्ड आयरल्यान्डको पुस्तक ‘चाइना एन्ड पावर्स’ (सन् १९०२)

 

 



प्रतिक्रिया दिनुहोस्