Logo

ओलीसँग वार कि पारका लागि माधव नेपालले गरे झलनाथ खनालको प्रतिक्षा



काठमाडौं, १४ साउन । नेकपा एमालेको माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज या भोलिभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहँदा नेपाल समूह भने सरकारमा नजाने भएको हो ।

सरकारमा जानका लागि नेपाललाई आफूपक्षीय सांसदहरुको दबाब थियो । उनले सामूहिक छलफल गर्दा सरकारमा जानुपर्ने राय थियो । तर, नेपालले सांसद पद नै जाने खतरा देखाए ।

माधव नेपाललाई मन्त्री बन्नकै लागि साथ दिने सांसदहरु समेत छन् । उनीहरुले वार कि पार गरेर जानुपर्नेमा जोड दिएका छन् । त्यसमा पनि नेपालले संयम हुन आग्रह गरे ।

विश्वस्त स्रोतका अनुसार अब वार कि पार गर्नका लागि पनि वरिष्ठ नेता झलनाथ खनाल आएपछि टुंगो लगाउने गरी नेपालले सांसदहरुलाई थमथमाएका छन् । खनाल नयाँ दिल्लीमा उपचाररत छन् । उनी १० दिनभित्र काठमाडौं आइपुग्ने बुझिएको छ ।

खनाल आएपछि आफ्नो पक्षमा लामो समय रहेर असन्तुष्ट सांसदहरुलाई मनाउने रणनीति बनाएका छन् । भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईलगायत नेपालसँग असन्तुष्ट छन् । उनीहरुलाई खनाल आएपछि मनाउने गरी नेपालले रणनीति बनाएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्