काठमाडौं,१५ साउन । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदान दिने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले उक्त प्रतिबद्धता जनाएकी हुन् ।चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । चीनले दिने भनेको थप खोप चाँडै आउने जनाइएको छ । भेटमा अर्थमन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकाले सहजीकरण गर्नको लागि आग्रह गरेका थिए ।
उक्त भेटघाटमा अर्थमन्त्री शर्माले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्न नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए ।