Logo

अभियन्ता बाँस्कोटा सम्मानित



काठमाडौं, १५ साउन । नेपालमा वैदिक शिक्षाको प्रचारप्रसारमा योगदान गरेको भन्दै डा. दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरिएको छ । वैदिक ज्ञानको प्रचारप्रसारमा योगदान गर्नुभएका बाँस्कोटालाई आइतवार आयोजित दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा रहेको महर्षि वैदिक भवनमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले महर्षि नेतृत्वदायी पदकबाट सम्मान गर्नुभएको हो । बाँस्कोटा पूर्व गृहराज्यमन्त्री हुनुहुन्छ । कार्यक्रम महर्षि विश्वव्यापी अभियानको मुख्यालय नेदरल्याण्डबाट जुम प्रविधिमार्फत प्रत्यक्ष आयोजना गरिएको थियो ।

नेदरल्याण्डबाट विश्वव्यापी रूपमा सम्मानित हुने छजना नेताका नाम उच्चारण गरिएसँगै तत्तत् देशमा यसरीलाई सम्मान गरिएको हो । बाँस्कोटाले विगत दुई दशकदेखि महर्षि वैदिक फाउन्डेशन नेपाल नामक संस्थामार्फत योग, ध्यान र यज्ञका माध्यमबाट देश एवं विश्व शान्तिका लागि सहयोग गर्दै आउनुभएको छ । हाल यसै संस्थाअन्तर्गत देशभरका करिब एक सय गुरुकूलमा ध्यान, यज्ञ र योगका माध्यमबाट विश्व शान्तिका लागि काम भइरहेको छ ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले वैदिक नेपाल निर्माणका लागि महर्षि वैदिक फाउन्डेशन नेपालका माध्यमबाट देशव्यापी अभियान सञ्चालन गरिएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो ।

बाँस्कोटासँगै भारतका पूर्व मन्त्री रमेश पोख¥याल ‘निशङ्क’, इण्डोनेशियाको बालीका पूर्व नगरप्रमुख मादे मंकु पस्तिकालगायत विश्वका छजना अभियन्तालाई आ÷आफ्ना देशमा वैदिक ज्ञानको प्रचारप्रसार गरेकामा सम्मान गरिएको हो । अग्र्यानिक तथा मौलिक खेतीमार्फत चिया उत्पादन, नेपालमा सहकारी आन्दोलन र महर्षिको वैदिक अभियानमा सक्रिय भएबापत मानार्थ पीएचडी हासिल गर्नुभएका बाँस्कोटा यसअघि राजनीतिमा संलग्न भएर राज्यमन्त्रीसम्म हुनुभएको थियो । पछि राजनीतिलगायत समाज सुधार्ने भनिएको धेरै ठाउँमा विकृतिमात्र बढेको देखेपछि उहाँ अध्यात्ममार्फत समाज सुधार अभियानमा लाग्नुभएको थियो ।

कार्यक्रममा डा. टोनी नाडर, दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती डङ्गोल तामाङलगायतले बोल्नुभएको थियो । कीर्तिपुरको चम्पादेवी मन्दिरमुनिको बाासन सामुदायिक वनको छेउमा ब्रह्मानन्द सरस्वती ग्राम अवस्थित छ– जहाँ ऋग्वेदको १० औँ मण्डलबाट लिइएको भावातीत ध्यान सिकाइन्छ । यहाँ ध्यान शिक्षकको तालिमसमेत सञ्चालन गरिन्छ । गुरुपूर्णिमाका अवसरमा शनिवारदेखि नेपाल र भारतका ध्यान शिक्षक तालिममा सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्