दीपक भण्डारी : मलाई रातको झरी मन पर्छ । सुनसान रातमा पानी पर्दाको त्यो सङ्गीतमय प्रतिध्वनिले मलाई आनन्दित तुल्याउँछ । धेरैजसो म झरीको रातमा ओछ्यानमा ढल्किँदा नै निदाउने गर्छु । कानमा गुन्जेको सङ्गीत मेरा लागि निद्रालु औषधी (स्लीपिङ ट्याब्लेट)को काम गर्छ, तर किन हो किन ? आज निद्रा लागेको छैन । म यता कोल्टे फेर्छु, आफ्नो जीवनलाई हेर्छु, आफ्ना उपलब्धिलाई केलाउन थाल्छु र सन्तोष हुने ठाउँ देख्दिनँ, फेरि अर्को कोल्टे फेर्छु, मन हर्षित हुन्छ, जीवनमा गरेका साना–साना उपलब्धिलाई सम्झिँदा । फेरि निदाउने कोशिस गर्छु, आँखा झिमिक्क गर्न मरे मान्दैनन् । हताश मान्छ मेरो मन जीवनका सङ्घर्षहरू कहिले ओझेल नपरेको देख्दा र म परिभाषित गर्छु – जीवन सङ्घर्ष हो ।
लामो सास अनायासै फेर्छु, केही राहत मिल्छ – हतास मानेको मेरो मनलाई । दिनभरिको थकान र थाकेको मेरो तनले एकछिनको लागि भए पनि आराम खोजेको छ तर मेरो मन भने आज किन हो स्थिर छैन ? भारी भएको छ । म सम्झन्छु मेरा जानेर नजानेर गरेका गल्तीहरू । मेरो जीवनको पाइला–पाइलामा अनायासै काँडाहरूले बारम्बार घोंच्न्ने गर्छन् । मनलाई बुझाउने कोसिस गर्दै मनमनै आफैलाई सान्त्वना दिन्छु – घोडा चढ्ने त लड्छ नि ! काम गर्नेले त गल्ती गर्छ नि ! गल्ती हुन्छ अनि फेरि गल्ती दोहोरिन्छ भने पो त्यो क्षम्य हुँदैन ! जीवनमा गल्ती हुन्छ, गल्ती सच्याएर अघि बढ्नु नै जीवन हो, लड्नु र उठ्नु जीवनको प्रक्रिया हो । गतिशील जीवनमा ठक्कर खाइन्छ अनि फेरि ठक्कर खाए पनि जीवन आफ्नो गतिमा अघि बढ्छ – शायद जीवन एउटा चक्र हो, एउटा प्रक्रिया हो ।
प्रयास मेरो जारी रहन्छ, निदाउनको लागि तर सक्दिनँ । एउटा मनले भन्छ – बेकारमा त्यो काममा हात हालिएछ । कतै धेरै महत्त्वाकाङ्क्षी त भइएन । के पाउने कोशिस गरेको होला ? किन छोप्न खोजेको होला धेरै व्यर्थमा । जे थियो ठिकै थियो, खान लाउन पुगेकै थियो – अनावश्यकको तनाव लिएर । यस्ता प्रश्नहरू अनगिन्ती तेर्सिन्छन् मेरा अगाडि । त्यो क्षण मलाई खुब घत लाग्छ, कतै पढेको भनाइ – निपुण दुई तरिकाले भइन्छ, एउटा तरिका जम्मा गरेको ग¥यै गरेर र अर्को तरिका आवश्यकता र चाहनालाई सिमित राखेर । हो, शायद सुख र खुशी दोस्रो तरिकामा मिल्छ किनकि यसमा तनाव कम हुन्छ । जीवनलाई फेरि परिभाषित गर्छु – शायद जीवन सुख र दुःखको सङ्गम हो ।
फेरि अर्को मनले सोच्छ – मानिसमा महत्त्वाकाङक्षा नभएको भए शायद अहिले विकासको सम्भावना थिएन होला ? मानिस खुम्चिएर बसेको भए शायद यो संसार आज यति सानो हुँदैन थियो होला ? मानिसले लडिन्छ भनेर खुट्टा कमाएको भए चराजस्तै उड्ने चाहना राख्दैन थियो होला ? आज हवाईजहाजको आविष्कार पनि हुँदैन थियो होला ? मानवजातिले नसोचेको भौतिक उपलब्धि गरेको छ । विकास, परिवर्तन स्थिरताले सम्भव हुँदैन । प्रगतिशील सोच नै विकास र परिवर्तनको स्रोत हो । जीवन एकनासको सिधा धर्सो होइन, जीवन मुटुको चालको ग्राफजस्तो हुनुपर्छ । मुटुको चालको ग्राफ सिधा धर्सो भयो भने मुटु बन्द हुनु हो । त्यस्तै जीवनको ग्राफमा पनि सिधा धर्सो भयो भने जीवनको कुनै अर्थ हुँदैन । जीवन शिथिल बन्छ, जीवन निरस बन्छ । जीवन रोमाञ्चित हुनुपर्छ, रोमाञ्चित जीवनको लागि आँट र महत्त्वाकाङ्क्षा पनि हुनुपर्छ । मैले बुभ्mन सकेको छैन किन आज यो झरीको रातमा यति धेरै मनमा कुरा खेल्दै छन् ? मानव चन्द्रमा पुग्ने, मङ्गलग्रहमा पुग्ने दुःसाहस गर्छ । म सानो प्रयास गर्न खोज्दा पनि सोचमा किन डुब्ने ? म आफूलाई ऊर्जा दिन्छु र मेरो मनले कल्पिन्छ – जीवन नदीजस्तै बग्नुपर्छ, पहरामा ठुला–ठुला चट्टानहरूमा ठक्कर खाँदै जसरी नदी अघि बढ्छ, त्यसैगरी जीवन अघि बढ्नुपर्छ र सफलताको लागि निरन्तर प्रयास जारी राख्नुपर्छ । फेरि म परिभाषित गर्छु – जीवन एउटा कोशिस हो ।
म फेरि कोल्टे फेर्छु, मैले कमाएका साथीहरूलाई सम्झिन्छु, उत्साहित हुन्छु, उनीहरूको साथमा रङ्गीन बनेका मेरा जीवनका पलहरू सम्झिँदा । फेरि मेरो मनले जानेर नजानेर कसैको साथ गुमाएको क्षण सम्झिन पुग्छ । भावुक हुन्छ मेरो मन । ती क्षणहरूको सम्झनामा जुन परिस्थिति अनि समयको अगाडि कति विवश हुन पुगेको थियो मेरो जीवन, जसले चाहेर पनि त्यो साथलाई न्याय गर्न सकेको थिएन । मेरो जीवन कति आफू केन्द्रित देखिएको थियो, स्वार्थी देखिएको थियो मेरो जीवन । पिरोलिन्छ मेरो मन । बाहिर आकाश रोएको छ, यता मेरा आँखा रसाउन पुग्छन् ।
आफ्ना साना–साना कमजोरी केलाउन थाल्छ मेरो मन । मैले कसैको जीवनलाई अन्याय त गरेको छैन, मेरो कारणले कसैको जीवन रोएको त छैन ? आँखा चिम्म गर्छु एकछिन एकोरिन्छु चाहँदाचाहँदै, जानी नजानी अर्को जीवन मेरो जीवनका कारण पिरोलिएको छ भने म आज पश्चात्ताप गरेर के हुन्छ ? त्यो समय र उसको जीवनको त्यो क्षण म फर्काउन सक्छु र ? अनेक तर्कना गर्छ मेरो मन । छट्पटिन्छ मेरो मन । मनलाई दृढ पारेर म सङ्कल्प गर्छु – अब उपरान्त म सजग हुन्छु कि मेरो जीवनको कारण अर्को जीवन दुःखी हुने कारण नबनोस् । म परिभाषित गर्छु – शायद जीवन दृढ सङ्कल्प हो ।
अचानक मेरो मन चङ्गाजस्तो हलुका भएर उड्न पुग्छ । भविष्यका सुन्दर सपनाहरू वरिपरि नाच्न थाल्छन् । आशा गर्छ – जीवन त्यो प्राप्तिको लागि । भविष्यको लागि समर्पित भएको पाउँछु – आफ्नो जीवन । भविष्यको लागि आज मुस्कुराएको पाउँछु मेरो जीवन । मलाई कता–कता थप ऊर्जा मिल्छ । मेरो जीवन फुल्ने सपना बुन्छु, आनन्दित हुन्छु । निस्फिक्री हुन्छ मेरो मन । आनन्द मानेर शान्त भएको मेरो मन स्थिर हुन्छ, मेरा आँखाले के विश्रामको अनुभूति गरेको थियो आकाश गर्जिञ्छ, म झस्किन्छु । म परिभाषित गर्छु – जीवन आशाको त्यान्द्रो हो ।
आनन्दित भएको मेरो मन एकछिन एकोहोरिन्छ अनि मेरा आँखाले के विश्रामको अनुभूति गरेको थियो, आकाश गर्जिन्छ, म झस्किन्छु । कल्पित सांसारिक भ्रममा आनन्द मानेको मेरो मन केही बेरमै अशान्त बनिदिन्छ, म परिभाषित गर्न पुग्छु – जीवन एउटा भ्रम हो ।
अनेक तर्कना वितर्कना मनमा खेलिरहे । यही खेल÷खेलाइमा बिहान भएको थाहा भएन अनि आफैलाई प्रतिप्रश्न गरेँ, के जीवन अनुत्तरित प्रश्न हो ? तर मैले जीवनलाई अदृश्य शक्तिको उपहार ठानेँ र यो उपहारलाई उल्लासमय ढङ्गले स्वीकार्ने निर्णय गरेँ ।
धुम्बाराही, काठमाडौँ । २०७८ श्रावण १३ गते ।