काठमाडौं, १६ साउन । नेकपा एमालेमा उमेर हद विधानमै राखिएको थियो । ७० वर्ष पुगेपछि पार्टीको सल्लाहकार कमिटीबाहेकका निर्णय तहका कमिटीहरुमा रहन नपाउने थियो । तर, माओवादीसँगको पार्टी एकतापछि उमेर हद स्वतः रहेन ।
अहिले नेकपाभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद चलिरहँदा उमेरहदको विषय सुस्त रुपमा उठ्न थालेको छ । दोस्रो पुस्ताका नेतालाई नेतृत्वमा ल्याएर पार्टी एकता बनाउनेतर्फ पनि केही नेताहरु लागिरहँदा उमेर हदको विषय पनि उठेको हो ।
७० वर्षको उमेर हद लागू भएमा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम जस्ता हस्तीहरुले राजनीतिबाट सन्यास लिनुपर्ने हुन्छ । अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पनि अर्को वर्ष राजनीतिबाट सन्यास लिनुपर्ने हुन्छ ।
ओली, खनाल र गौतम ७० वर्ष कटिसकेका छन् । उनीहरु अझै राजनीतिमा प्रभावशाली छन् । उमेर हद लागू भएमा एमालेका नेपाल पनि लामो समय एमालेको सक्रिय राजनीतिमा रहने छैनन् । दोस्रो पुस्ताका नेताहरु नेतृत्वमा स्थापित हुनेछन् ।