Logo

खाद्यान्न र शैक्षिक सामग्री सहयोग



काठमाडौँ, १६ साउन: काठमाडौँको बानेश्वरमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न र लमजुङको अमरज्योति प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौँ समर्पणले आज बानेश्वरमा आयोजना गरेको कार्यक्रममा केन्द्रमा बस्दै आएका बालबालिकाका लागि दाल, चामल, तेल, चाउचाउ, बिस्कुट, थर्मस लगायतका सामग्री सहयोग गरेको हो ।

यस्तै लमजुङको राइनास नगरपालिका–८ स्थित पीपलटारीमा रहेको अमरज्योति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेको हो । कार्यक्रममा क्लबका अध्यक्ष लबेन्द्रसिंह मल्लले अभिभावकविहीन भएका बालबालिकाको उज्ज्वल भविष्यका लागि बालआश्रमले खेलेको भूमिका सराहनीय रहेको बताए ।

क्लबका उपाध्यक्ष अखिल अग्रवालले लायन्स क्बलले सबै संस्थामार्फत सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । लायन्स क्बल डिस्ट्रिकको चिफ एडभाइजर भीम पौडेलले सेवाको भावना बोकेर स्थापना भएको लायन्स क्बलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । इन्जिनीयर पङ्कज जलानले युवालाई अगाडि बढाए मात्र देशको विकास हुने भएकाले उचित शिक्षा प्रदान गर्न बालआश्रमलाई आग्रह गरे ।

विसं २०६४ मा स्थापना भएको बालआश्रमले शुरुमा आमाबाबु नभएका १३ बालबालिकालाई सेवा प्रदान गरेको थियो । अहिले ५५ बालबालिकालाई बालआश्रममा राखेर सेवा प्रदान गर्दै आएको नयाँ नेपाल समाज केन्द्रका अध्यक्ष कृष्णराज गुरुङले राससलाई जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–३१ मा सञ्चालनमा रहेको उक्त बालआश्रममा सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ लगायतका बालबालिका बस्दै आएका छन् ।

कार्यक्रममा अमरज्योति प्रावि लमजुङका प्रधानाध्यापक हरिमाया घिमिरेले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेर ठूलो गुन लगाएको भन्दै लायन्स क्लब अफ काठमाडौँ समर्पणलाई धन्यवाद दिए ।

एक दशकपहिले काठमाडौँको सानेपामा स्थापना भएको उक्त लायन्स क्लबले गत वर्ष कोरोना शुरुआती चरणमा २०० सिलिन्डरसहित ‘अक्सिजन बैंक’ स्थापना गरी समाज सेवा गर्दै आएको थियो ।

क्लबले कोरोनाको दोस्रो चरणमा ललितपुरको जावलाखेलमा ‘जे एन्ड जे कोभिड क्लिनिक’ स्थापना गरी गरिब तथा विपन्न व्यक्तिलाई निःशुल्क कोरोना परीक्षण मिलाएको क्लबका प्रवक्ता एवम् सदस्य विवेक शर्माले जानकारी दिए । क्लबले आगामी दिनमा पनि समाज सेवालाई निरन्तरता दिने प्रवक्ता शर्माको भनाइ छ ।-रासस



प्रतिक्रिया दिनुहोस्