Logo

गठबन्धनका प्रभावशाली नेता सरकारमा जाने सम्भावना टरेपछि देउवाले उपप्रधानमन्त्री नबनाउने



काठमाडौं, १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सिनियर नेताहरु सहभागी नहुने भएपछि उपप्रधानमन्त्री नबनाउने भएका छन् । उपप्रधानमन्त्री बनाएमा गठबन्धनका सबै दलबाट बनाउनुपर्ने भएकाले उनले कसैलाई पनि नबनाउने बुझिएको छ ।

काँग्रेसबाट डा. सशांक कोइरालालाई उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बनाउने देउवाको चाहना थियो । तर, कोइरालाले मन्त्री बन्न मानेनन् । उनले सुजाता कोइरालालाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाउन प्रस्ताव गरेका छन् । विश्वस्त स्रोतका अनुसार देउवा उपप्रधानमन्त्री नबनाउने गरी सुजातालाई सरकारमा लान तयार देखिएका छन् । तर, उनलाई उपप्रधानमन्त्रीसहित लान दबाब छ ।

सुजातालाई परराष्ट्रबाहेक अर्को मन्त्रालयमा लगेर उपप्रधानमन्त्री समेत दिनेबारे समेत छलफल चलेको छ । देउवाले भने उपप्रधानमन्त्री कसैलाई नबनाउने गरी तयारी बढाइसकेको बुझिएको छ ।
परराष्ट्रमा सांसद समेत रहेका उद्दोगी बिनोद चौधरीको पनि सम्भावना छ । उनलाई परराष्ट्रमा लानेबारे पनि छलफल बढेको छ ।

जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव पनि सरकारमा नजाने भएका छन् । उनले पार्टीका निकटस्थ सांसदलाई लाने भएका छन् । यादव नजाने भएपछि पनि देउवाले उपप्रधानमन्त्री नबनाउने निर्णय लिएको बुझिएको छ ।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा जस्ता वरिष्ठ नेताहरु सरकारमा नजाने भएका छन् । उनीहरु सरकारमा जाने अवस्थामा देउवाले उपप्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । श्रेष्ठ र महराको सम्भावना लगभग टरेको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल समूह तत्काल सरकारमा जाने पक्षमा छैन । नेपाल पक्ष सरकारमा गएको भए उक्त पक्षबाट कुनै प्रभावशाली नेतालाई उपप्रधानमन्त्री मिल्न सक्थ्यो । यसले पनि देउवालाई सजिलो भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot