Logo

भारतसँगको नेपालको सम्बन्धमा पहिलेभन्दा केही सुधार होला भन्ने विश्वास छ : उपाध्याय



भारतका लागि पूर्व नेपाली राजदूत तथा नेपाली कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई सुमधुर बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । वर्तमान सरकारले भारतलगायत सबैसँग राम्रो सम्बन्ध बनाउनेमा आफू आशावादी रहेको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वराजदूत उपाध्यायले यस्तो बताएका हुन् । उनले भारतसँग नेपालको सम्बन्ध यसअघिभन्दा केही सुधाुर र राम्रो हुनेपनि दाबी गरेका छन् । नेपाल र भारत दुवै देशले एक अर्काको अपेक्षा र उद्देश्यबारे प्रष्टसँग कुरा राख्नुपर्ने र सोहीअनुसार दुवै देशका सरकारले कदम चाल्दा नै राम्रो हुने उनको तर्क छ । प्रस्तुत छ पूर्वराजदूत उपाध्यायसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेपछि नेपाल–भारत सम्बन्ध कस्तो होला ?

हेर्नुहोस, यो सरकार बाध्यतामा बनेको छ । यसका आफ्नै किसिमका विवशता, बाध्यता र समस्याहरु छन । त्यसैले त्यति धेरै आशा नगरौँ । तर, कमसेकम हिजोजस्तो नहोला, अब स्वभाविक रूपमा अगाडि बढ्ला । यो आशा गरौँ किनभने दक्षिणमात्रै होईन उत्तरसंग, पश्चिमसंग अनि अमेरिकासंग निकै ठुलो अहिले दरार छ । विश्वसनियता घटेको छ । यो गठबन्धनको सरकार हो । करिब–करिब अल्पमतको सरकार बहुमतको प्रतिपक्ष हुने जस्तो अवस्था छ । त्यसैले गर्दाखेरि अहिले धरै ठुलो चुनौति छ । त्यही पनि आशा गरौँ पहिलेभन्दा सुधार होला ।

त्यसोभए नेपाल–भारत सम्बन्ध सुमधुर हुन्छ त ? शेरबहादुर देउवा र मोदीको बीचमा कुरा मिल्छ भन्ने तपाईँको भनाई हो ?

होईन, हेर्नुहोस् मेरो पनि भारत सरकारलाई सधैंभरि आग्रह के रह्यो भन्दा यो सरकार भनेका कुरा अनि सरकारको नेतृत्व गर्ने व्यक्ति भनेका कुरा परिवर्तन भइरहन्छन । नेपालमा पनि परिवर्तन हुन्छ, भारतमा पनि परिवर्तन हन्छ । र, अन्य ठाउँमा पनि परिवर्तन हुन्छ । तर, नेपाल र भारतको सम्बन्ध ईतिहाँसको हाम्रो संस्कृति र सभ्यताको सम्बन्ध हो । यो जनता जनता बीचको सम्मन्ध हो । त्यसैले गर्दा भारत सरकारले पनि नेपाली जनतालाई आहात हुने कुनै काम नगरोस र यसमा ध्यान देओस् । र, नेपाल सरकारले पनि त्यसमा ध्यान पुर्याउनुपर्दछ । खास गरेर भारतसंग हाम्रो अपेक्षा के हो भने भारतको हामीसंगको अपेक्षा के हो राम्रोसंग गृहकार्य गरेर यो सिमाको समस्या, डुवानका समस्या त्यसको राम्रो प्रवन्धन अनि व्यापार घाटालगायतका हाम्रा यावत नेपालको भारतसंगको आशा र अपेक्षा यो हो यसलाई यसरी समाधन गर्ने हो भनेर हामीहरुले भन्न सक्नु्पर्यो । भारतले पनि नेपालबाट के अपेक्षा गरेको छ, एउटा सार्वभौमसत्तासम्पन्न देशसंग यत्रो किसिमका हाम्रो अनुपम सम्बन्ध छ । त्यसलाई परिभाषित गरेर अगाडि जाने विषयमा दुवैको ध्यान जानुपर्दछ । एक राष्ट्रले सोचेरमात्र हुँदैन्।

भारतसंग नेपालको सिमा विवाद जताततै छ त्यसको दीर्घकालिन समाधान गर्न सकेनौँ नि ? किन भन्नुहोस् त ?

नेपालमा यो परीणाम निस्किएको छैन । हाम्रो देशमा त सधैंभरि अस्थिरतामात्रै भयो । यो सुदख् पक्ष होईन । सरकारको परिवर्तन भैरहने अवस्था भयो । हाम्रो सरकारको प्राथामिकतामा परराष्ट्र मन्त्रालय पनि नपर्ने, नेपालमा केपी शर्मा ओली दुई तिहाईनजिकको बहुमतको प्रधानमन्त्री हुनुभयो, त्यसलाई दिगो सरकार भन्यौँ । यसले पनि मैले भनेजस्तो नीतिबाट परराष्ट्र नीतिलाई परिभाषित गर्ने कुरा, त्यसमा राष्ट्रिय सहमति जुटाउने कुरामा सरकारले ध्यान दिन्छ होला, जनताले त्यो परीणाम देख्न पाउँछन् भन्ने आशा गरेको थिएँ । त्यो चाहीँ हुन सकेन । त्यो त अब हिजोको कुरा भयो, अहिले त नयाँ सरकार बनेको छ । र, यो सरकारकासामू यी सबै कुराहरुमा चुनौती छ । कमसेकम जग बनाउने काममा हामी कुनै स्वार्थमा लागेर चुक्नुहुँदैन् । कुटनीतिलाई हामीले अपरिपक्व बनाउने, अस्थिर बनाउने असन अविश्वसनीय बनाउने कामबाट हामीहरु जोगिनुपर्छ ।

नेपाल–भारत सम्बन्धको कुरा गर्दाखेरि जहिलेपनि हामीबीच सीमामा समस्या छ, सधैँ भारती सुरक्षाकर्मीले नेपाली जनतामाथि थिचोमिचो गर्छन् नि, किन भन्नुहोस् त ?

यो त अत्यन्त दुःखद् कुरा छ । यति अमानवीय हुनसक्छ भन्ने कसैले पनि सोचेको थिएन । यति अमानवीय व्यक्ति हुनुहुँदैन थियो तर दुःखद् घट्ना भयो । यस्ता किसिमका घट्नाहरु हामीले नेपालमा पटक–पटक भोग्नु परेको छ । अब यसलाई के भन्नु र हामीले यो कुरालाई उच्च तहमा छलफल गरेर यसको निरुपण गर्नुपर्दछ । हुन त भारत सरकारले जहिलेपनि आफुले त्यो स्वीकार गर्दैन् । तर, तथ्य र सत्य त दुई वटा हुदैनन् हेर्नुहोस् एउटै हुन्छ । मलाई दुई वटा कुरामा पनि बडा दुःख लाग्यो हेर्नुहोस । मानवीय कुरामा भारत सरकारले नेपाल सरकारलाई खोप उपलब्ध गराउनुपर्दथ्यो । अहिले पनि पहिलो डोज खोप लगाएकाले ठुलो संख्याले खोप लगाउन बाँकी छ, अर्को डोज लगाउन पाएका छैनन् । भारतमाथि खुल्ला सिमाना भएको ठाउँमा पैसा तिरेको खोप पनि ल्याउन नसक्नु त्यो हाम्रो कुटनीतिक असफलता हो । र, यसमा नेपालको मात्रै नभएर भारतको पनि त्यो असफता हो नि । नेपालजस्तो देश त सरकार र व्यक्तिवसंग मतलव होईन, जनताको संवेदनशिलतामा ध्यान दिन पर्नेमा भारत सरकारले ध्यान दिन सकेन । अहिले पनि यसरी हेर्नुहोस तुईनमा विचारा झुण्डिएर नदी तर्दै गरेको व्यक्तिलाई तार काटेको कुरा आएको छ, अहिले ती युवा महाकालि नदीमा हराएको छ भने योभन्दा बढि अमानवीय कुरा के हुन्छ । यो कुरामा पनि भारत सरकारले सत्य तथ्यको आधारमा संवेदनशिलता देखाउनुपदर्छ । पहिले जवलाल नेहरुको जमनामा त्यहाँभन्दा पहिले पनि भारतले स्विकार गर्ने त्यसतर्फ सकारात्मक दृष्टिकोण राख्ने त्यो चाही अहिले मैले देखिराखेको छैन । त्यो विषयमा हाम्रो कुटनीतिक पहल अलिकति नपुगेको जस्तो लाग्छ ।

हाम्रो देशका कुटनीतिज्ञले र पराष्ट्र मन्त्रीहरुले भारतसंग राम्रोसंग सहकार्य गर्न सकेनन् नि, यो कुरालाई त तपाईँ स्विकार गर्नुहुन्छ ?

नाई, एउटा कुरा मैले भनें नि पराष्ट नीति प्राथमिकता र निरन्तरताको वर्गीकरण गर्नै सकेनौँ । हाम्रो प्राथमिक ऐजेण्डा के हुन भन्ने कुरामा त हामीहरु त जहिले पनि चुकेकै छौँ । जहिले पनि हिनताबोधमा अनि लघुताभाषमा आँखामा आँखा जुदाएर कुरा गर्न नसक्ने कुनै कुराको पनि तयारी गर्न नसक्ने भारतमा के छ भने परराष्ट्र सेवामा नेपालका विज्ञ मान्छेहरु सेवा निवृत्त भएपछि पनि उनीहरु विभिन्न फोरमको नाममा भारतमा गइरहेका हुन्छन् । ठुला–ठुला फईल बोकर आउँछन । उनीहरुले विभिन्न घट्नाक्रमलाई यस्तो यस्तो भयो, आज यो अवस्था छ भन्छन । नेपालको तयारी नै पुग्दैन हेर्नुहोस् । हामी त्यहाँ व्यक्ति गएपछि त्यो कुरा सिद्धियो, नयाँ व्यक्तिसंग त म नै जान्ने हौँ भन्छ । त्यो होईन, कुट्नीति भनेको त हेर्नुहोस् चाहे ती कुनै सेवामा रहेका वा नरहेका चाहे क्षमता, अनुभव यी सबै कुराहरुलाई एक ठउँमा राखेर बल्ल हामीले राष्ट्रिय नीतिको रुपमा परिभाषित गर्नुपर्ने हो । त्यो कुरामा नेपाल चुकेको छ । अब त्यसको जग यो सरकारले बसालोस । परराष्ट्र मन्त्रालय अझै खालि छ । अब परराष्ट्रमन्त्री बनाउँदाखेरि योग्य मानिस आउन् । जसले यी सबै कुरा ध्यान दिओस् भन्ने कुरा तपाईंमार्फत जानकारी गराउँदछौं ।

प्रधानमन्त्री बनेको २० दिन नाघिसक्यो, तपाईँहरुले मन्त्रिमण्डल गठन गर्न सक्नुभएन, किन भन्नुहोस् त ?

तपाईँलाई अघिनै मैले भनें नि त, यो त अल्पमतको सरकार बहुमतको प्रतिपक्ष हुने अवस्था छ । माधवकुमार नेपालजीलाई पनि गाह«ो छ हेर्नुहोस् । उहाँले आँटेर एउटा छुट्टै समूह बनाएर यसको एउटा संवैधानिक र कानूनी बाटो खोजेर आउने हो भने यो सरकारले कमसेकम सजिलोसंग सास फेर्न पाउँछ । होईन भने त्यहाँ धरापमा जसपाको पनि बीचमा छ अवस्था हेर्नु न, न फुट्ने न जुट्ने अवस्था छ । नेपालमा अब हेनुहोस् नैतिकता र ईमानको यति ठुलो स्खलन भैसक्यो । प्रदेसभामा मन्त्री हुन नपाउनेबित्तिकै यताको उता हुन्छन् । भोट हाल्नुपर्ने बेला भयो भने अधिकाँश माननीय विरामी हुन्छन । गायब हुन थाल्छन् । यो त नैतिकता र ईमानको स्खलन हो । त्यसकोलागि हामी पनि केही हदसम्म दोषी होउँला । समाजको आजको वास्तविक चरित्र यही हो । त्यसैले आगामी दिन अत्यन्त कठिनाईपूर्ण छ । चुनौतीपूर्ण छ । सरकारले यहीँबाट राष्ट्रिय सहिष्णुतालाई अगाडि नजाने हो भने गाह«ो छ हेर्नुहोस् । वर्तमान सरकार सजक हुनुपर्छ । यो सरकारलाई मेरो शुभकामना छ । FILE PHOTO/ReportersNepal-Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्

Screenshot