काठमाडौं, १७ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी छाड्न तयार छैनन् । उनी पार्टी विभाजनका लागि पनि अझै तयार देखिएका छैनन् ।
नेपाललाई उनीनिकटस्थ अधिकांशले नयाँ पार्टी खोलेर अगाडि बढ्न भनिरहेपनि धैर्यताका साथ संघर्ष गर्ने बताएका छन् । आफूनिकटस्थ २२ सांसदसँग छलफलका क्रममा नेपालमाथि सरकारमा जान दबाब परेको थियो । तर, उनले सांसद पद नै जानसक्नेतर्फ सचेत गराए ।
२२ भन्दा बढी सांसद साथमा रहेकाले नेपाल निर्णायक शक्ति बनेका छन् । उनी त्यो शक्ति गुमाउन चाहँदैनन् । त्योभन्दा पनि उनलाई सुर्य चिन्हको मोह छ ।
नेपाल लामो समय एमालेको नेतृत्वमा रहे । त्यसपछि पनि उनी दोस्रो शक्तिशाली नेता छन् ।
अर्को पार्टी बनाउँदा उनीमाथि एमाले विभाजनको आरोप लाग्छ । सुर्य चिन्ह नभएमा निकटस्थले नै साथ छाड्न सक्ने सम्भावना छ । भविष्यमा चुनाव लड्दा पनि सुर्य चिन्हमा धेरैको चाहना हुन सक्छ ।
माधव नेपाल सरकारमा जान आनाकानी गरिरहँदा मन्त्रिमण्डल विस्तार पनि रोकिएको छ । भोलिसम्म पर्खने नभए मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् ।
सरकारमा जान नेपाल तयार नदेखिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक सम्झाउन खोजेका छन् । तर, नेपाल तयार छैनन् । सरकारमा जाँदा सांसद पद नै गुम्न सक्नेबारे सचेत छन् ।
नेपाललाई आफ्ना कतिपय निकटस्थहरुले एमाले छाडेमा साथ नदिने जवाफ दिइसकेका छन् । भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट पार्टी विभाजनको विपक्षमा उभिइसकेका छन् । रावल ओलीसँग नजिक भइसकेका छन् । यसकारण पनि नेपाल पार्टी फुटाइहाल्ने पक्षमा छैनन् । उनी अझै पनि एमालेमै बसेर संघर्ष गर्ने पक्षमा उभिएका छन् ।