![](https://reportersnepal.com/wp-content/uploads/2020/05/khotang-768x512.jpg)
खोटाङ, १८ साउन । ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल र पसलको रकम भुक्तानी नदिएको भन्दै महुरे–राजापानी सडकखण्ड कालोपत्रको काममा खटिएका कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका छन् ।
भारत कन्ट्रक्सन/सिद्धि शाही जेभीका ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल, हार्डवेयर, खाद्य सामग्रीलगायतको भुक्तानी नदिएको भन्दै कामदार तथा स्थानीय व्यवसायीले यहि साउन २ गते निर्माण कम्पनीका ट्रक, टिपर र ट्र्याक्टरको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका हुन् ।
विसं २०७६ मा ठेकेदार कम्पनीसँग गरिएको सम्झौताअनुसार निर्माण कम्पनीका ठेकेदारले आफूहरुलाई दिनुपर्ने रकम भुक्तानी नदिएपछि चाबी नियन्त्रणमा लिएर सडक निर्माणको काम रोक्नुपरेको बुइपाका व्यवसायी मोहन श्रेष्ठले बताए । “ठेकेदारले यसअघि गरेका सम्झौताअनुसार हामीलाई भुक्तानी दिएको छैन”, उनले भने, “ठेकेदारलाई फोन गर्दा फोन उठाउँदैन, हामीलाई ढाँटेको ढाँट्यै गरेपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक र ठेकेदारलाई भनेरै निर्माण कम्पनीमा सञ्चालित सबै सवारी साधनको चाबी मागेर राखेका छौँ ।”
कामदार तथा स्थानीय व्यवसायीले ठेकेदारबाट रकम भुक्तानी नपाएपछि यसअघि २०७६ पुस २० गतेदेखि एक महिना र फागुन ८ गतेदेखि दुई दिन सडक निर्माणको सम्पूर्ण काम ठप्प बनाएका थिए । यसअघि गरिएको सम्झौताअनुसार ठेकेदार कम्पनीबाट माग पूरा नभएपछि कामदार तथा स्थानीय व्यवसायीले पुनः सोही माग राखेर सडक कालोपत्रको काममा अवरोध गरेका हुन् ।
स्थानीय कामदार तथा व्यवसायीको अवरोधका कारण यही साउन २ गतेदेखि नै सडक निर्माणको सम्पूर्ण काम ठप्प बनेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने कामदार तथा व्यवसायीले निर्माण कम्पनीको सवारी साधनको चाबी नियन्त्रणमा राखेको विषयमा दुवै पक्षबाट जानकारी नआएको बताए।
सडक कालोपत्रको काममा स्थानीय व्यवसायी तथा कामदारले गरेको अवरोध फुकाउने विषयमा हालसम्म कसैको ध्यान पुगेको छैन । कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीबाट रु २८ लाख पाउन बाँकी रहेको बताएका छन् । महुरेमा रात दिन गिट्टी कुटेका दर्जनौँ महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन् । गिट्टी कुटेबापत ठेकेदार कम्पनीबाट प्रतिव्यक्ति कम्तीमा रु ३० हजार रकम भुक्तानी नपाएको स्थानीय एक महिला कामदारले गुनासो गरे । रासस