काठमाडौं, १८ साउन । ईजाजतपत्र बिना उपचारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईजाजतपत्र बिना बिरामीको उपचारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका ७ बस्ने भारत घर भएका ३१ वर्षीय सौरभ कुमारलाई काठमाडौं चावहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल प्रालिबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।
साथै उक्त कार्य गर्न सहजीकरण गर्ने काठमाडौं चाबहिल बस्ने महोत्तरी पिपरा गाउँपालिका ३ घर भएका ४० वर्षीय डा.रावेत रञ्जन कुमार ठाकुर र दोलखा बैतेश्वर गाउँपालिका ६ घर भएका उक्त प्रालिका संचालक ४६ वर्षीय राधा कृष्ण तामाङ समेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उक्त प्रालिमा चिकित्सा सम्बन्धी पेशा गर्ने कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट ईजाजत पत्र प्राप्त नगरेका भारतीय नागरीकले चिकित्सकको रुपमा काम गरी बिरामीहरुको चेक जाँच तथा सर्जरी समेतका उपचार कार्यमा संलग्न रहेको भन्ने बुझिएपश्चात प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र नेपाल मेडिकल काउन्सिल समेतबाट खटिएको टोलीले सौरभलाई ईजाजतपत्र विना दाँत सम्बन्धी बिरामीको उपचार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको बताएको छ ।
उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ईलाज सम्बन्धी कसूर तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।