Logo

पोखराबाट बेचबिखनमा संलग्न २ जना पक्राउ



कास्की, १८ साउन । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका १२ अमरसिंह चोकस्थित एसके खाजाघरका २ जना संचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका १२ अमरसिंहचोक बस्ने सोही महानगरपालिका १० घर भएकी ५३ वर्षीया सोनाम गुरुङ र सोही महानगरपालिका २७ रिठ्ठेपानी घर भएका ३२ वर्षीय रोशन गुरुङ रहेका छन् ।

उनीहरुले राम्रो काममा लगाईदिन्छु भन्दै महिलाहरुलाई डरत्रास देखाई ललाई फकाई प्रलोभनमा पारी पैसाको मोलमोलाई समेत गरी यौनशोषण गर्न लगाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट पीडित महिलाहरुलाई मनोपरामर्श गरी प्रहरीले आफन्तको जिम्मा लगाएको बताएको छ ।

उनीहरुमाथि मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot