काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल अब अध्यक्ष केपी शर्मा ओलीसँग वारपार गर्ने अवस्थामा पुगेका छन् । पछिल्लो समय पार्टी एकताको लागि दोस्रो पुस्ताका नेताहरुले दबाब दिईरहेको बेला नेता नेपाल भने आफू पक्षधर केन्द्रीय सदस्यहरुको राय र सल्लाह लिएरमात्रै अघि बढ्ने तयारीमा जुटेका छन् । त्यसको लागि उनले आज अपरान्ह केन्द्रीय कमिटी सदस्यहरुको बैठक राखेका छन् ।
तर, त्यो भन्दा पहिले अहिले स्थायी कमिटी सदस्यहरुको बैठक बस्दैछ । तर, अध्यक्ष ओली पक्ष अर्थात संस्थापन् पक्षले भने नेपाल समूहले बोलाएको बैठकमाथि प्रश्न उठाएको छ । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले हिजै एक विज्ञप्ती निकालेर नेपाल पक्षले आज डाकेको बैठकको बैद्यतामाथि प्रश्न उठाएका थिए । दोस्रो पुस्ताले अध्यक्ष ओलीसँग सम्झौता गर्न दबाब दिएपछि तेस्रो र चौथो पुस्ताले भने कुनैपनि हालतमा ओलीसँग सम्झौता नगर्न सुझाएका छन् ।
बरु, छुट्टै पार्टी गठन गरेर भएपनि अघि बढ्नुपर्ने उनीहरुको आवाज छ । पछिल्लो समय नेता नेपाल दोस्रो पुस्ताका नेताहरुसँग भन्दापनि तेस्रो पुस्ताका नेताहरुसँग बढि घुलमिलमा छन् । उनले कतिपय आफूनिकट कार्यक्रमहरुमा भन्ने पनि गरेका छन्–‘मलाई तेस्रो र चौथो पुस्ताको दरिलो साथ छ । हामी कसैसँग झुक्नेवाला छैनौं ।\
File Photo/ReportersNepal