काठमाडौं, २१ साउन । सर्वोच्च अदालतले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्याकेट निवेदन तत्काल अस्वीकृत गर्ने फैसला सुनाएको छ । माओवादीबाट निर्वाचित भई नेकपा एमालेमा क्रियाशील स्थानीय तहका २१ जना जनप्रतिनिधिलाई पुर्नबहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न प्रचण्डले भ्याकेट निवेदन दिएका थिए ।
न्यायाधीशहरु आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलासले भ्याकेट निवेदनहरुमाथि सुनुवाई गर्दै अन्तरिम आदेश खारेज गर्ने माग तत्काल अस्वीकार गरेको हो । यसअघि माओवादीबाट निर्वाचित २१ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न प्रचण्डले निर्वाचन आयोगलाई पत्र लेखे अनुसारको निर्णय भएको थियो । त्यसविरुद्ध जनप्रतिनिधिहरु सर्वोच्च अदालतमा रिटसहित पुगेकोमा आयोगको निर्णयमाथि अन्तरिम आदेश जारी गर्दै पुर्नबहालीको अवस्था बनेको थियो ।
सर्वोच्चले पर्नुबहाली गरेका जनप्रतिनिधिमा रोतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पनि छिन् । उनी पूर्वमन्त्री प्रभु साहकी पत्नी हुन् । यसैगरी कटहरिया नगरपालिकाका मेयर सियराम कुशवाल, का अलावा रौतहट, महोत्तरी, ओखलढुंगा, सिराहा, कैलालीका केही पालिकाका वडाध्यक्ष पनि पुर्नबहाली भएका थिए ।