Logo

गठबन्धनका शिर्ष नेता नाम छान्दै, को को बन्लान् मन्त्री



काठमाडौं, २२ साउन । आउँदो हप्ताको सुरुमा मन्त्रिमण्डल विस्तार हुने लगभग निश्चित भएको छ । त्यसका लाग गठबन्धनका शिर्ष नेताहरुले आन्तरिक छलफल चलाउन थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय र इतर समूहका नेताहरुसँग छलफल गर्न थालेका छन् । उनले सबै पक्षको सहभागिता हुने गरी मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवार, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई समेत सन्तुष्ट बनाउने गरी मन्त्री चयन गर्न खोजेका छन् ।

देउवाले प्रतिनिधि सभा सदस्य भएकालाई मात्र मन्त्री बनाउने भएका छन् । काँग्रेसबाट सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, डा. नारायण खड्का, उमाकान्त चौधरी, दिलेन्द्रप्रसाद बडु, तेजुनारायण चौधरीको मन्त्री बन्ने सम्भावना बलियो छ ।

नेकपा माओवादीले पनि मन्त्री छान्न आन्तरिक गृहकार्य चलाएको छ । अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा छलफल गरेका छन् । माओवादीबाट मातृका यादव, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, शिवकुमार मण्डल, अमनलाल मोदीको बलियो सम्भावना छ ।

जनता समाजवादी पार्टीबाट महेन्द्र राय यादव, राजकिशोर यादव, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, रेणु यादव मन्त्री बन्ने सम्भावित सूचीमा छन् । मन्त्री बन्ने आकांक्षी धेरै भएपछि अध्यक्ष उपेन्द्र यादवमाथि ठूलो दबाब परेको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सरकारमा नजाने भनेपनि देउवा जोडबल गरिरहेका छन् । नेपाल पक्ष सरकारमा सहभागी भए ६ वटा मन्त्रालय पाउने सम्भावना रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot