काठमाडौं, २२ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । हिजादेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रघुजी पन्तले भने,‘आज ३५ जना केन्द्रीय सदस्यहरुले बोल्नुभयो । सबैले पार्टी एकतामा जोड दिनुभयो । यो बैठक सकिएपछि स्थायी कमिटी बैठक बस्यो । स्थायी कमिटी बैठकले केही प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लगियो । वरिष्ठ नेता माधव कुमार नेपालले समापन सम्बोधन गर्नुभयो । हामीले पनि आलोचना गर्दा जिम्मेवार बन्नुपर्छ भन्नुभयो । दक्षिणपन्थी विचारको विरुद्ध संघर्ष गर्दा एकताबद्ध भएर अघि बढ्नुपर्छ । केपी ओलीले मलाई जति नै गाली गरेपनि म अहिलेपनि पार्टी एकता होस भन्ने पक्षमा छु । एकताको लागि मेरो प्रयत्न जारी छ । केपीले हामीलाई अलमल्याउन खोजेको त होईन ? भन्ने आशंका धेरै साथीहरुले गर्नुभएको छ, तर म त्यस्तो नहोला भन्ने गान्छु । एकतामा जोड दिन चाहन्छु ।’
एकताको प्रयत्न चलिरहेकोले एकतामै जोड दिनुपर्ने नेता नेपालको भनाई थियो । आजको बैठकमा चार वटा प्रस्तावसमेत पारित गरिएको सुनाए । उनले भने,‘पहिलो कुरा सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागत गरियो । दोस्रो प्रस्तावमा पार्टी एकताको लागि दश बुँदे सहमति भएको र वार्ता चलिरहेकोले पार्टीका नेताहरुमाथि अनेकौं प्रकारका टिप्पणी र लाञ्छना लगाउने कामप्रति दुःख व्यक्त गरेको छ । तेस्रोमा पार्टी एकताको लागि कुराकानी र वार्ता चलिरहेको छ, यस्तोमा नविकरणलगायत सबै गतिविधि रोक्न ध्यानाकार्षण गर्दछ । १० बुँदेसहमतिलगायत सबैले एकताको आधार निर्माण गरेको छ ।’
https://www.facebook.com/RishiDhamalaOfficial/videos/4068983283151616
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम