Logo

माधव नेपाललाई अध्यक्ष बनाउँदा केपी ओलीलाई के को घाटा ? : खगराज अधिकारी (भिडिओसहित)



काठमाडौं, २३ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवैले केही न केही त्याग गर्नैपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले ओलीले पार्टी अध्यक्ष कुनैपनि हालतमा नछोड्नेपनि दाबी गरे । उनले भने-“उहाँले कुनैपनि हालतमा अध्यक्ष पद छोड्नुहुन्न, किनभने उहाँ त निर्वाचित अध्यक्ष हो नि । यस्तो पनि कहीँ कुरा हुन्छ ? महाधिवेशन आउँदैछ । अहिले बीच बाटोबाटै छोड्न मिल्दैन् । माधव कमरेडले चुनाव हारेपछि बीच बाटोबाटै छोड्नुभयो, त्यस्तो छोड्नुहुँदैन नि, कम्युनिष्ट पार्टीलाई, ठेगानमा लगेर छोड्ने हो ।”

अधिकारीले एकता त्यति सजिलो नभएको भएपनि एकता अनिवार्य रहेको सुनाए । उनले पार्टी एकताको लागि १० बुँदे नै आधार भएको पनि सुनाए । उनले ओली र नेपालले अब एकले अर्कोलाई देखाईदिने खालको ईख लिन नहुने धारणा राखे । बरु, एकताको लागि जोड दिनुपर्ने उनको सुझाव छ । माधव नेपाल पक्षले पार्टीका गतिविधि रोक्न गरेको आग्रह युक्तिसंगत नभएको पनि अधिकारीको भनाई छ । अध्यक्ष ओली र नेता नेपालबीच अब सजिलै कुरा मिल्ने उनको दाबी छ । उनले भने-“किनभने उहाँहरुबीच सिद्धान्त, दर्शन, दृष्टिकोण, पार्टीको निर्माणको ईतिहास भएकोले मिल्नसक्ने सम्भावना नै प्रवल छ नि ।”

उसो भए माधव नेपाललाई अध्यक्ष बनाएर जाँदा केपी ओलीलाई के घाटा भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा अधिकारीले भने-“केही न केही, के को घाटा ? दुवै जना अध्यक्ष भएर पनि जान सक्नुहुन्छ । हिजो नेकपा जोगाउनको लागि तीन जना अध्यक्ष भनेर केपीले राखेको प्रस्ताव हो नि । उहाँहरुले त बरु केपी हटाउँ भन्नुभयो । केपी ओलीले तीनै जना राखौं भन्नुभयो ।”



प्रतिक्रिया दिनुहोस्