Logo

बाढीका कारण मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन राप्रपाको माग



काठमाडौँ, २३ साउन: राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकमा बाढीका कारण मृत्यु भएका मृतक र बेपत्ता परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।

सो पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरासहितको टोलीले आज बाटुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाललाई ज्ञापनपत्र बुझाउँदै सिन्धुपाल्चोकका पाँचपोखरी गाउँपालिका, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा आएको भिषण बाढी क्षेत्रका पीडित परिवारलाई तत्काल राहतको प्याकेज उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “बाढीबाट क्षति भएका भौतिक संरचना पुल, शिक्षण संस्था, विद्युत् आदिको तत्काल वैकल्पिक माध्यमबाट र भविष्यमा दीर्घकालीनरुपमा पुनःनिर्माण गर्न र हालसम्म विस्थापित भएका परिवारलाई सुरक्षित स्थानको पहिचान गरी पुनःस्थापना गर्न माग गर्दछौँ ।”

सो पार्टीले अहिले पनि निरन्तररुपमा बाढी गइरहेकाले तत्काल विशेषज्ञको टोली खटाएर बाढीका कारण र अब बाढीले क्षति पु¥याउने स्थानको पहिचान गरीस्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत अनुरोध गरेको छ ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले राहत र उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष जबराले बाढीको कटानबाट खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण कार्य अगाडि बढाउनुपर्नेमा जोड दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्