Logo

चतुर प्रचण्डको अर्को चुनाव जित्न यस्तो छ अग्रिम तयारी



काठमाडौं, २३ साउन । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जोखिम मोल्न सक्ने नेता हुन् । उनले जनयुद्धको नेतृत्व गरेर जोखिम मोले, शान्ति प्रक्रियामा आउनले जोखिम मोले र संसदीय राजनीतिमा पनि उत्तिकै जोखिम मोलेका छन् । कतिपय अवस्थामा उनले धक्का खाएका छन् । कतिपय अवस्थामा लाभ लिन सकेका छन् ।

प्रचण्डको अर्को विशेषता पार्टी नै बिघटन गर्ने हो । उनी आफैले पटक पटक पार्टी बिघटन गरेर नयाँ सुरु गरेको गर्वका साथ सुनाउने गरेका छन् । जनयुद्ध गरेको पार्टी नेकपा माओवादी उनैले बिघटन गरेर एकीकृत कम्युनिस्ट पार्टी बनाएका थिए । उनी कुनैपनि बखत पार्टी बिघटन गरेर अगाडि बढ्ने स्वभावका छन् । यसको मुख्य कारण उनीभित्रको आत्मविश्वास, साहस र करिश्मामयी व्यक्तित्व पनि हो ।

प्रचण्डमा रणनीतिक चार्तुयता निकै देखिन्छ । उनले जनयुद्धकालमा असफल हुन लाग्दा माओवादीलाई चर्तुयाईका साथ जोगाएका छन् । स्वेदश र विदेशका शक्तिहरुसँग चार्तुयता देखाउन सफल भएको देखिन्छ ।

तेस्रो जनआन्दोलनपछि माओवादी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएर संविधानसभामा पहिलो स्थान हासिल गर्न सफल भयो । प्रचण्ड प्रधानमन्त्री भए । तर, उनले भन्दै आएको सत्ता कब्जाको रणनीतिमा सेनापति प्रकरणमा धक्का लाग्यो । माओवादीको विभाजन र दोस्रो संविधानसभाको चुनावमा पहिलोबाट तेस्रो दल बन्यो ।

प्रचण्डले तेस्रो दल हुनाको बाबजुद आफूलाई निर्णायक शक्तिको रुपमा उभ्याए । उनी दोस्रो संविधानसभा कालमा पनि प्रधानमन्त्री बन्न सफल भए । रणनीतिक चार्तुयता देखाइरहे ।

संविधान निर्माणपछि माओवादी निकै कमजोर हालतमा थियो । स्थानीय निकायको निर्वाचनमा तल्लो तहमा बलियो संगठन भएका नेपाली काँग्रेस र नेकपा एमालेसामु प्रचण्डलाई मुश्किल थियो । उनले केपी शर्मा ओलीसँगको सहकार्य तोडेर शेरबहादुर देउवासँग सहकार्य गरे । स्थानीय निकायको चुनावमा काँग्रेससँग आन्तरिक रुपमा कुरा मिलाएर बढीभन्दा बढी स्थानमा जनप्रतिनिधि निर्वाचित गराउन सफल भए ।

प्रचण्डले भरतपुरमा छोरी रेनु दाहाललाई मेयरमा चुनाव जिताउन सके । भरतपुरमा देउवाको ठाडो निर्देशनमा काँग्रेस उम्मेदवारले मनोनयन दर्ता फिर्ता लिएका थिए । देउवा आफै रेनुको प्रचारमा पुगेको घटना राजनीतिकवृत्तमा चर्चामा आयो ।

देउवासँग गठबन्धन बनाएका प्रचण्डले संसदीय चुनाव आउँदै गर्दा रणनीति परिवर्तन गरे । देउवा सरकारमा रहनुका बाबजुद ओलीसँग सहकार्य गरेर माओवादीलाई चुनावमा होमे । एमाले र माओवादीबीच ६० र ४० प्रतिशत सिट बाँडेर चुनाव लडे । निकै कमजोर हालतमा रहेको माओवादी केन्द्रलाई क्षमताभन्दा बढी सिटमा जिताउन सफल भए ।

२०७४ को आमनिर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिटमा विजय हासिल गरेको थियो । जबकि समानुपातिकतर्फ मात्र १७ सिट जित्न सक्यो । समानुपातिकतर्फभन्दा प्रत्यक्षतर्फ दोब्बर सिट जित्नुले पनि एमालेसँगको गठबन्धनबाट सबैभन्दा बढी फाइदा माओवादीलाई भएको देखिन्छ । जबकि प्रत्यक्षतर्फ ८० सिट जितेको एमालेले समानुपातिकतर्फ ४१ सिट जितेको थियो । समानुपातिकतर्फभन्दा नेपाली काँग्रेसले झण्डै आधा कम सिट जित्यो । प्रत्यक्षतर्फ २३ सिट जितेको काँग्रेसले समानुपातिकतर्फ ४० सिट जित्यो ।

प्रचण्ड चार्तुयतातपूर्वक कमजोर भइसकेको माओवादीलाई शक्तिशाली बनाए । एमालेसँग एकताको सम्झौता गरे । त्यसमा उनको एमाले कब्जा गर्ने रणनीतिबारे चर्चा चल्यो । नेकपा बन्दा ६०–४० को सम्झौता गरेका थिए । माओवादीले सबै कमिटीहरुमा ४० प्रतिशत हिस्सा पायो । ओलीसहित प्रचण्ड अध्यक्ष बने । सरकारमा पनि माओवादीबाट शक्तिशाली मन्त्रालय सहित उल्लेख्य संख्यामा सहभागिता भयो । आधा आधा सरकारको नेतृत्व गर्ने सम्झौता ओलीसँग गरे ।

प्रचण्डले विस्तारै नेकपाभित्र नियन्त्रण बढाउन थाले । नेकपाभित्रको विवादमा सचिवालयका बहुमत सदस्यहरु प्रचण्डको पक्षमा उभिए । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता हस्तीहरु प्रचण्डको साथमा पुगे । यसमा उनको रणनीतिक चार्तुयता नै कारण थियो । जे जस्तो घटना विकास भएपनि प्रचण्डले चतुरताका साथ सामना गरे ।

नेकपा विभाजन भयो । प्रतिनिधि सभा दुई पटक बिघटन भयो । प्रचण्डले सावधानीपूर्वक परिस्थिति सम्हाले । काँग्रेस सभापति शेरबहादुर देउवासँग पुनः सहकार्य बनाए । विगतमा प्रचण्डले ओलीसँग सहमति बनाएर साथ छाडेकोमा रुष्ट देउवालाई मनाइछाडे । देउवालाई प्रधानमन्त्रीका लागि मनाएर ओलीलाई सत्ताबाट हटाउने सफलता बनाइछाडे ।

प्रचण्डले माओवादीका केही हस्ती गुमाएपनि पछिल्लो समय सहज अवस्थामा छन् । एमालेभित्र औपचारिक विभाजनको अवस्था विकास भइरहेको छ । प्रचण्ड भने नयाँ गठबन्धन निर्माणमा लागेका छन् । माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसहितको गठबन्धन बनाएर सकभर नयाँ दल निर्माणमा जुटेका छन् ।

देउवा प्रधानमन्त्री बन्दा अर्थ र ऊर्जा जस्ता शक्तिशाली मन्त्रालय माओवादीले पाउने गरी प्रचण्डले लाभ लिन सकेका छन् । उनी यतिबेला शक्ति सञ्चयमा लागेका छन् । विचार मिल्ने दलहरुसँग गठबन्धन निर्माणमा लागेका छन् । आगामी वर्ष हुने निर्वाचनका लागि प्रचण्डको अग्रिम तयारी देखिइसकेको छ । माओवादी एक्लैले यसअघिको चुनावमा जति पनि सिट जित्न नसक्ने देखिन्छ । तर, प्रचण्ड अहिलेभन्दा बढी सिट जित्ने गरी रणनीतिक रुपमा बढेका छन् । यसका लागि माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईसहितका नेताहरुलाई समेटेर गठबन्धन बनाउने गरी लागिपरेका छन् । प्रचण्डले रणनीतिक चार्तुयता देखाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्