काठमाडौं, २४ साउन । प्रभु बैंकले मेशिनबाट नै बैंक खातामा पैसा जम्मा गर्न सकिने सेवा सुरु गरेको छ । बैंकले ग्राहकको भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यास रिसाइकल मेशिन (सीआरएम) बाट बैंक खातामा रकम जम्मा गर्न सकिने नयाँ सुविधा सञ्चालनमा ल्याएको हो ।
बैंकको अनुसार मेशिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं टाइप गर्ना साथ उक्त मेशिनमा रकम जम्मा गर्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै रकम जम्मा हुन्छ । तत्कालै भौचर प्रिन्ट हुने बैंकले जनाएको छ ।
साथै, उक्त मेशिनबाट डेबिट क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । यो सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुने जनाएको छ ।
नेप्सेसँग सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाईने बैंकले जनाएको छ । मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको बैंकले जानकारी दिएको छ । यस सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ ।