Logo

ओली–नेपाल शक्ति संघर्षमै रुमल्लिए यी नेता, एमाले नेतृत्वमा पुग्नबाट अझै टाढा



काठमाडौं, २४ साउन । नीति र विचारको मुद्दामा नेताहरुबीच संघर्ष हुने भनिएपनि कम्युनिस्ट पार्टीहरुभित्र सारमा शक्तिकै लागि टकराव भइरहने गर्छ । त्यसमाथि पनि नेपालका कम्युनिस्ट पार्टीहरु विचार वा कसैलाई हेर्ने दृष्टिकोणको नाममा विवाद निकाल्दै विभाजित सम्म हुने गरेका छन् ।

कम्युनिस्ट पार्टीभित्र एउटै नेता लामो समय शक्तिमा रहने परम्परा छ । नेपालका कम्युनिस्ट पार्टीमा पनि त्यस्तै देखिन्छ । शतप्रतिशत केन्द्रीय कमिटी निर्वाचित हुने घोषणा गरेर नवौं महाधिवेशन ७ वर्ष अघि गरेको नेकपा एमालेले नयाँ नेतृत्व विकासको प्रणाली समेत विकास गरेको थियो । ७० वर्ष कटेका नेता पार्टीको कुनै कार्यकारिणी कमिटीमा रहन नपाउने विधानमै उल्लेख थियो ।

पुरानो विधान बमोजिम हुने हो भने नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले राजनीतिबाट सन्यास लिनुपथ्र्यो । झलनाथ खनाल र बामदेव गौतम पनि घरमा आराम गर्नुपर्ने अवस्थामा पुग्थे । माधवकुमार नेपाल केही महिनाभित्र राजनीतिबाट सन्यास लिन वाध्य हुन्थे । तर, एमालेभित्र यीनै नेताहरुबीच शक्तिसंघर्ष चलिरहेको छ ।

एमालेभित्र अझै एक दशक पुरानै पुस्ताका नेताहरुबीच शक्ति संघर्ष चलिरहने संकेतहरु देखिएका छन् । दोस्रो र तेस्रो पुस्ताका नेताहरु पनि केपी शर्मा ओली र माधवकुमार नेपालबीचको शक्ति संघर्षमा ध्रुवीकृत भई कुनै एक पक्षमा लागेका छन् ।

एमालेको पुरानो विधान अनुसार उमेरहदले ओली र नेपाल राजनीतिबाट सन्यासमा पुग्थे । तर, उनीहरुलाई नै नेता मानेर दोस्रो पुस्ता र तेस्रो पुस्ताका हस्तीहरु कहिले पार्टी एकताका नाममा त कहिले राजनीतिक जीवन बचाउन दौडधूपमा छन् ।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित मध्येका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, महासचिवमा पराजित भई स्थायी कमिटी सदस्यमा विजयी सुरेन्द्र पाण्डेमध्येबाट एकजना नेतृत्वमा पुग्ने आँकलन गरिएको थियो । तर, पाँच वर्षमा हुनेपर्ने महाधिवेशन ७ वर्षमा पनि हुन सकेन । एमाले र माओवादी केन्द्रबीचको एकतालगायत नाटकीय घटनाले दोस्रो पुस्ताका नेताहरुको नेतृत्वको आकांक्षा अझै पूरा भएको छैन ।

अहिले एमालेभित्र ओली र नेपाल नै मुख्य देखिएका छन् । उनीहरु जे भन्छन् त्यही दिशा एमालेले लिने देखिएको छ । रावल, पोखरेल, पौडेल, नेम्वाङ र पाण्डे जस्ता हस्तीहरु कहिले पार्टी एकताका लागि त कहिले कुनै एक नेताको गुटमा लाग्दै रुमल्लिइरहेका छन् । अहिलेको घटनाक्रमले यी नेताहरुबाट एमाले नेतृत्व अझै टाढा देखिन्छ ।

रावल र पोखरेलको व्यक्तिगत पकड पनि एमालेभित्र देखिएको छ । पौडेल र नेम्वाङ समन्वयकारी भूमिकामा देखिएका छन् । पाण्डे पनि त्यही भूमिकामा देखिएका छन् । उनीहरुमध्ये कुनै नेता ओली र नेपाललाई चुनौती दिने क्षमताका देखिएका छैनन् । पार्टी औपचारिक विभाजन नजिक पुग्दा पनि कसैले पनि उनीहरुलाई पाखा लगाएर एकतावद्ध बनाउने क्षमता देखाउन सकेका छैनन् । न त दबाब दिएर गलाउन सकेका छन् ।

दोस्रो पुस्ताका हस्तीहरु एकजुट भएमा ओली र नेपाल अप्ठ्यारोमा पर्न सक्छन् । त्यो क्षमता पनि उनीहरुले देखाउन सकेका छैनन् । यसबाट उनीहरुका सामु एमाले नेतृत्व अझै टाढा देखिन्छ । संघर्ष गरेर भन्दा पनि भाग्यले नेतृत्व आइलाग्ने आशामा एमालेका दोस्रो पुस्ताका हस्तीहरु ओली र नेपालसामु निरिह भई रुमल्लिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot