Logo

प्रचण्डले देउवालाई धोका देलान् ?



काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्को वर्ष हुने आमनिर्वाचनको चिन्ताले अहिले देखि नै सताएको हुनुपर्छ । यथास्थितिमा देउवा नेतृत्वकै सरकारले अबको आमनिर्वाचन गर्ने देखिन्छ । तर, नेपालको संसदीय इतिहासमा जुन प्रधानमन्त्रीको पालामा चुनाव हुन्छ उसैको दल या समूहले हार व्यहारेको बढी घटना छ ।

२०४८ सालको आमनिर्वाचन गराएका कृष्णप्रसाद भट्टराई आफै चुनावमा पराजित भएका थिए । उनको दल नेपाली काँग्रेसले चुनाव जिते पनि भट्टराई पक्षले नराम्रो धक्का खाएको थियो ।

२०५१ सालको मध्यावधि चुनाव गराएका गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली काँग्रेस दोस्रो स्थानमा पुगेको थियो । २०५६ सालको चुनावमा मात्र काँग्रेस बहुमत हासिल गर्न सफल भयो ।

२०६४ सालको संविधान सभा निर्वाचन गराएका गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली काँग्रेसले दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । त्यतिबेला काँग्रेस निकै कमजोर भयो ।

२०७० सालमा दोस्रो संविधान सभा चुनाव खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले गरायो । काँग्रेस पहिलो स्थानमा आयो । २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले आमनिर्वाचन गरायो । तर, काँग्रेसले चुनावमा नराम्रो पराजय व्यहोर्न पुग्यो । कम्युनिस्टहरुको बहुमतको सरकार बन्यो ।

इतिहास केलाउँदा पनि जस्ले चुनाव गरायो उसैले झड्का खानुपरेको देखिन्छ । त्यसैले पनि देउवालाई आगामी चुनावले अहिले नै चिन्तित बनाएको हुनुपर्छ ।

२०७४ सालमा स्थानीय निकायको चुनावमा प्रचण्डले नेतृत्वको माओवादीसँग महत्वपूर्ण ठाउँहरुमा गठबन्धन बनाएका थिए । आमनिर्वाचनमा पनि प्रचण्डसँग सहकार्य हुने ठानेर देउवाले सहयोग गरेका थिए । जसका कारण भरतपुर महानगरपालिकामा काँग्रेस उम्मेदवारलाई पछि हटाएर रेनु दाहालले सहयोग पाइन् । उनले जीत पनि हासिल गरिन् ।

तर, प्रचण्डले आमनिर्वाचन नजिकिदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धन गरे । जसले काँग्रेसलाई चुनावमा ठूलो धक्का दियो । ओली नेतृत्वको दुई तिहाईको सरकार बन्यो । यो घटनाले देउवा प्रचण्डसँग निकै चिढिए । आफूलाई धोका दिएको भन्दै प्रचण्डसँग भेट्न मानेनन् ।

ओलीसँग भित्री सहकार्यमा रहेका देउवालाई गठबन्धनमा ल्याउन प्रचण्डलाई यसकारण पनि हम्मे परेको थियो । लामो समय भेट्न पनि मानेनन् । दुवैबीच निकै दूरी रह्यो । बल्लतल्ल भेट भयो । प्रधानमन्त्री बन्ने अवस्था बनेपछि भने देउवा गठबन्धनमा आए । नत्र उनी चुनावको रटान लगाइरहेका थिए ।

अर्को वर्ष आमनिर्वाचनको मिति हो । मंसिरमा चुनाव गर्नुपर्ने अवस्था छ । विशेष परिस्थितिमा ६ महिना पछि लान सकिन्छ । चुनावको भित्री तयारीमा प्रचण्ड लागिसकेका छन् । उनी माधव नेपाल, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईसहितको शक्तिबीच गठबन्धन बनाउन सक्रिय छन् । भरसक एकता गरेर नयाँ दल खोल्न लागिपरेका छन् ।

प्रचण्डको चुनावमुखी रणनीतिहरु देखिन्छ । त्यतिबेला देउवाको साथ छाड्ने हुन् या होइनन् ? चासोको विषय छ । प्रचण्ड चुनावी रणनीतिमा चतुर देखिदै गएका छन् । निकै कमजोर भइसकेको माओवादीलाई बलियो स्थितिमा पुर्याउन सके । चुनावमा आफ्नो पक्षको स्थिति मूल्यांकन गरेर मात्र प्रचण्ड अगाडि बढ्छन् । उनका लागि देउवासँगको सहकार्य भन्दा पनि चुनावको बेलामा महत्वपूर्ण जीत हासिल गर्ने नै हुनेछ । अहिले प्रचण्डले गरेको महत्वाकांक्षी तयारीले त्यस्तो सन्देश दिइरहेको छ । उनले आवश्यक परे देउवाको पनि साथ छाड्न सक्छन् । जसरी विगतमा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्