काठमाडौं, २४ साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले गौतम बुद्धको जन्मुभूमि लुम्बिनीमा पछिल्लो समय राजनीतिक विकृति र विसंगति देखिनु सुखद् नभएको भन्दै यो अवस्थामा चाँडो सुधार हुनुपर्नेमा जोड दिए । उनले प्रदेश प्रमुख शेरचन निष्ठावान व्यक्तित्व भएकोले अहिले गिजोलिएको राजनीति पनि विस्तारै संग्लिने पनि बताए । उनले भने,‘मलाई आशा छ, यो प्रदेशमा अहिले देखिएको राजनीतिक संकटको चाँडै समाधान हुनेछ ।’
आज (आइतबार) रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसमा आयोजित ‘स्मारिका विमोचन तथा सम्मान’ कार्यक्रममा बोल्दै उनले मुख्यमन्त्री शंकर पोखरेल नेपाली राजनीतिमा भविष्य भएको नेता भएकोले राजनीतिक संकट समाधानको लागि गम्भीर हुनुपर्ने धारणा राखे । उनले अहिले लुम्बिनी प्रदेशमा सांसद किनबेच, अपहरण तथा बन्धक बनाईएका समाचार आउनु नराम्रो भएको पनि सुनाए । उनले भविष्य भएको नेताले सत्ता छोड्नपनि हिम्मत गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘नेपाली राजनीतिमा अत्यन्तै छोटो समय सरकारको नेतृत्व गर्नुभएको विपी कोइराला र मनमोहन अधिकारीले नेपाली जनतामा राम्रो छाप छोड्नुभएको छ । अहिलेपनि जनताले उहाँहरुलाई सम्झिन्छन् । उहाँहरु सफल राजनीतिज्ञ हुनुहुन्छ । उहाँहरुको पदचाप अहिलेको पुस्ताका नेताले पनि पहिल्याउन सक्नुपर्छ ।’
उनले रिपोर्टर्स क्लब नेपाल लोकतन्त्र, विधिको शासन, कानूनी राज्य र सुशासनको पक्षमा रहेको सुनाए । र, स्थापना कालदेखि नै क्लबले सोहीअनुसार आफ्नो भूमिका खेलेको उनको भनाई छ । क्लबले आगामी दिनमा देशमा सुशासन कायम गर्नको लागि देशव्यापी रुपमा ‘क्लबका शाखा’ मार्फत सशक्त भूमिका निर्वाह गर्ने पनि धमलाले विश्वास दिलाए । उनले भने,‘अब क्लबको मुख्य नारा नै सुशासन र विकासको लागि भ्रष्टाचार अन्त्य हुनेछ ।’