एजेन्सी, २५ साउन । टोकियो ओलम्पिकमा भारतले १ स्वर्णसहित ७ पदक मात्र जितेको भन्दै चिनियाँ मिडियाले उसलाई आधुनिकताको अनुभूती गर्न अझै समय लाग्ने टिप्पणी गरेको छ । चिनियाँ मिडिया ग्लोबल टाइम्सले सम्पादकीयमार्फत् भारतबारे त्यस्तो टिप्पणी गरेको हो ।
चीनको विदेश मामलासम्बन्धी धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले सम्पादकीयमा लेखेको छ,‘भारतले १ स्वर्णसहित मात्र ७ पदक जितेको छ । उसले आधुनिकताको अनुभूती गर्न अझै समय लाग्ने देखिन्छ ।’
सम्पादकीयमा हरेक देशले ओलम्पिक विजेता र उत्कृष्ट खेलाडी उत्पादनमा लगानी गरिरहेको र त्यसका लागि निकै मिहेनत र क्षमता पनि आवश्यक पर्ने उल्लेख छ । तर, आर्थिक लगानी मात्र सबै थोक नभएको उल्लेख छ ।
आर्थिक र भौतिक विकासमा अगाडि रहेका देशहरु नै ओलम्पिकमा बढी सफल भएको देखिएपनि कतिपय आर्थिक रुपमा पछि परेका अफ्रिकी देशहरु पनि सफल भएको देखिन्छ । तर, ओलम्पिक राष्ट्रियता बलियो बनाउने मञ्च या अवसर भने भएको उल्लेख छ ।