Logo

हनुमानढोका क्षेत्रका २४ संरचना सम्पन्न, २१ निर्माणाधीन, २२ अलपत्र



काठमाडौं, साउन २६ । भूकम्पले ध्वस्त र क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका सबै सम्पदा पुनःनिर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने भएको छ । हनुमानढोका संग्रहालय विकास समितिका अनुसार सो क्षेत्रमा ८४ सम्पदामध्ये केही पूर्णरूपमा ध्वस्त र केही क्षतिग्रस्त भएका थिए ।

समितिका कार्यकारी निर्देशक सन्दीप खनालले हालसम्म २४ वटा पुनःनिर्माण सम्पन्न भएका, २१ वटा पुनःनिर्माणको क्रममा रहेका र २२ वटा पुनःनिर्माण शुरू नै नभएको जानकारी दिए । विश्वसम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रमा विभिन्न निकायले पुनःनिर्माण गरिरहेको छ ।

समितिका अनुसार दरबार क्षेत्रका सम्पदामध्ये केहीको पुनःनिर्माण गर्ने जिम्मा पुरातत्व विभाग, काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र विकास समिति, उपभोक्ता समिति र संसद विकास कोषले लिएका छन् ।

तीमध्ये उपभोक्ता समिति र विभागको काम द्रुत गतिमा भइरहेको छ । युनेस्को विश्वसम्पदा समितिको हालै सम्पन्न बैठकले काठमाडौं उपत्यकाका सम्पदालाई खतरा सूचीबाट हटाएको छ । त्यसलगत्तै पुनःनिर्माणले तीव्रता पाउन थालेको जनाइएको छ ।

हनुमानढोकाभित्रको मूलचोक, नासलचोक, टागाछें, माजुदेगः, दुर्गा मन्दिर, काष्ठमण्डप, कालिका, भाजु चोकको दक्षिण र उत्तर भाग, दाखः चोकको दक्षिणी भाग, काशी विश्वनाथ, नील बाराही लगायतका सम्पदा पुनःनिर्माण सकिने चरणमा छन् ।

कार्यकारी निर्देशक खनालले हाल पुनःनिर्माणको क्रममा रहेका सम्पदाहरूमध्ये झण्डै एक दर्जन सम्पन्न हुने चरणमा रहेको जानकारी दिए– ‘कतिपय कोभिडको कारण त कतिपय कुन निकायले पुनःनिर्माण गर्ने भन्ने विषयमा विवाद देखिएकोले केही ढिलाइ भएको हो ।’

हाल हनुमानढोका दरबार परिसरमा रहेको काष्ठमण्डप उपभोक्ता समितिले, सांसद विकास कोषमार्फत जगन्नाथ मन्दिर, पुरातत्व विभागबाट दश अवतार र कम्फुकोटको पुनःनिर्माण भइरहेको छ । कामपा हनुमानढोका विकास समितिले जिम्मा लिएको नव आदर्श स्कुल रहेको भवन, कुमारीघर, शिवपार्वती, महाविष्णु मन्दिर पुनःनिर्माण शुरू भएको छैन ।

कामपाले उपभोक्तामार्फत दिने कि आफैंले पुनःनिर्माण गर्ने भन्ने विषयमा निर्णय हुन नसक्दा आगम छेःको निर्माणमा अन्योल कायम रहेको आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot